Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

कलाकार हीट हुँदैमा गुणस्तरीय हुन्छ भन्ने छैन : सीताराम कट्टेल ‘धुर्मुस’


सिताराम कट्टेल अहिलेका चर्चामा रहेका हाँस्य कलाकार हुन् । मेरी बास्सै हाँस्य टेलिसिरियलमा निभाएका विभिन्न भूमिकाका कारण पनि उनी चर्चित बनेका हुन् । उनले अहिलेसम्म जतिवटा भूमिका गरे सबै सफल छन् । हालसम्म उनले ३७ वटा भूमिकामा आफुलाई उतारिसकेका छन् भने गत वर्षको चलचित्र ६ एकान ६ को सफलतापछि उनी अहिले त्यै टीमको वडा नंं. ६ को सुटिङमा छन् । बंगुर पालनदेखि हस्पिटल, सहकारी लगायत विभिन्न क्षेत्रमा क्रियाशिल धुर्मुससँग जिष्टखबरको कुराकानी :

अर्थोपार्जनका लागि कलाकारिता पर्याप्त छ ? नेपालमा कलाकारितालाई व्यावसायिक बनाउन सकिने अवस्था छ कि छैन ?

कलाकारिता क्षेत्रबाट अर्थोपार्जन गर्न सकिन्छ, त्यसका लागि यो क्षेत्र बुझेको मानिसको जरुरी हुन्छ । अरुले गरेको, देखेको भरमा वा लहलहैमा लागेर आउनेहरुका कारण यो क्षेत्र बदनाम भएको जस्तो पनि देखिन्छ । तर म फरक किसिमबाट सोच्छु । कलाकारितासँगै अन्य व्यवसायलाई पनि सँगै लैजान सकिन्छ भन्ने सोचलाई व्यवहारमा परिणत गर्न म लागिरहेको छु । यसको मतलब कलाकारिताबाटै व्यावसायिक बन्न सकिन्नँ भन्ने चैं होईन ।

हाँस्य टेलिचलचित्रहरु निर्माण हुने क्रम बढेको छ, यसले व्यावसायिकता बढाएको छ कि स्थापितहरुलाई असर पारिरहेको छ ?
यसरी सिरियलहरु आउनु राम्रो हो । हाँस्यव्यंग्य भनेको नराम्रा कुराहरुलाई व्यंग्यात्मक तरिकाले तरिकाले सुझाव दिने काम पनि हो । तर पछिल्लो समयमा जुन हाँस्य जमात देखिएको छ त्यसले भने असर पारिरहेको छ । हाँस्य कार्यक्रममा भाग लिँदैमा कोही हाँस्य कलाकार हुन सक्दैन । पछिल्ला हाँस्य टेलिसिरियलहरुले कुन विधालाई समेटेको छ भन्नेमा दर्शकलाई क्लियर गराउन नसकेको हो कि भन्ने जस्तो लाग्छ । कुनै पात्र चर्चामा आउनु फरक कुरा हो भने टिकिरहनु वा गुणस्तरीय हुनु फरक कुरा हो, यो बुझ्नु जरुरी हुन्छ ।

दर्शकहरुलाई हसाउने शैली एकैखाले भएका हुन् ? कुनै हीट भएपछि त्यसैको सिको गर्ने अनि अभिनयले भन्दा पनि अनुहार बिगारेर जवरजस्ती हसाउने प्रवृति नै हावी रहेको हो ?
एउटा पात्र वा सिरियल हीट हुँदा त्यै ट्रेण्ड पछ्याउने कुरा वास्तविक हो र त्यै भैरहेकै पनि हो । तर अभिनयले हसाउने फरक कुरा हो भने मुख बंग्याएर गरिने अभिनय पात्र अनुसार हुन्छ । मेरो धुर्मुुस पात्रले मुख बंग्याएर दर्शक हसाउन सक्छ भने केपी ओलीले अभिनयले हसाउँछ । त्यो एकै नहुन सक्छ । यो ओभर एक्ट नगरि दर्शक हसाउन सक्ने विधा पनि होईन, तर अभिनयमा डुब्न नसक्दा ती आरोप आउनु अस्वभाविक होईन ।

निर्देशकमा पनि कमजोरी छन् ?
अवस्था हेरेर अभिनय गराउने खुवी निर्देशकमा हुनुपर्छ । कतिपय अवस्थामा निर्देशकहरु चुकेका पनि हुन्छन् ।
हाँस्य सिरियल बढेसँगै गुणस्तर सिरियल र गुणस्तरीय कलाकार जन्मेका छन् कि छैनन् ?
यसमा हामीले दुई पुस्ता हेर्नुपर्छ । सन्तोष दाई (सन्तोष पन्त), मह दाई (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य) हरुको एउटा पुस्ता । दीपक दाई (दीपकराज गिरी) जितु दाई (जितु नेपाल) हामी एउटा पुस्ता । व्यावसायीकताका हिसाबले पछिल्लो पुस्ता राम्ररी आएको छ । तर अघिल्लो पुस्ताले प्रतिनिधित्व गरेकैले पछिल्लो पुस्तालाई सहयोग पुगेको हो । अर्को पाटो के पनि हो भने नयाँ पुस्तालाई लिएर अहिले पनि अघिल्लोे पुस्ताले यो क्षेत्र डो¥याउनु अत्यन्तै सराहनिय र कदरयोग्य पाटो हो । व्यावसायिक हिसाबले अहिले हाँस्यव्यंग्यका क्षेत्रमा बढी प्रगति भएको छ । हाँस्य कलाकारलाई जोकरका रुपमा लिने परिपाटीको पनि अन्त्य भएको छ भन्ने लाग्छ । अहिले हरेक टिभी, स्टेज शोहरुमा हाँस्य विधालाई समेटेकै हुन्छ र हाँस्य कलाकारहरु पनि लिड रोल मैं देखिन्छन् । सिनेमाहरुमा पनि यो विधा फष्टाएकै छ । तर हाँस्य सिरियल बढेसँगै राम्रा कलाकारहरु आएका छन् । आएकामध्ये सबै राम्रा त कहाँ हुन सक्छन् र ?

हाँस्यव्यंग्यको क्षेत्रमा अरु कलाकारभन्दा आफुलाई के फरक पाउनुभयो ?
म कलाकारितामा रिसर्च गरेर काम गर्नुपर्छ भन्ने सोच राख्छु । तर प्रस्तुतीका हिसाबमा त्यै चिजलाई अरुले फरक तरिकाले गर्नुहोला म फरक गरुँला । यो क्षेत्रमा मैले फरक गरेको भनेको मैले निभाएका विभिन्न पात्रहरु नै हुन् जस्तो लाग्छ । टेक्नीकल्ली पनि मैले खड्काजीको भूमिकामा रबर प्रयोग गरेको छु, मुुुस्कान पासमा हड्डी प्रयोग गरेको छु, म टेक्नीकल्ली र पात्रका हिसाबले पनि फरकपन खोजिरहेको हुन्छु । सहरी परिवेश आधारित सिरियल चलेका बेला हामीले गाउँले परिवेशको विशुद्ध राजनीतिका विषयभन्दा बाहिरबाट सिरियल सुरु गरेका थियौं । हामीले नै हरेक पात्रलाई फरक पहिचान दिलाउन सक्यौं ।

मेरी बास्सैले कलाकारको पहिचान नै बदल्न मद्धत पु¥याएको हो ?
मेरी बास्सै नै नयाँ टीम हो भन्ने लाग्छ । हामीले रोनाधोनाको रोलमा देखिने सुरवीर पण्डित दाईको रोललाई, सामान्य दुःखी रोलमा देखिने रामचन्द्र अधिकारीलाई फरक भूमिकामा प्रस्तुत ग¥यौं, त्यो पनि हँसाउने पात्रका रुपमा । हामीले नयाँनयाँ प्रयोग गर्दै आयौं, नयाँ क्षमता भएकाहरुलाई जिल्लाबाट ल्याएर पनि स्थान दियौं ।

धुर्मुसले व्यक्तिगत जिन्दगीमा कतिको असर पु¥यायो ?
असरभन्दा पनि फाईदा पु¥यायो । मलाई मेरा बुबाआमाले राखिदिएको नाम सिताराम । तर म धुर्मुसले चिनिएँ । मेरा बाआमाले सिताराम कण्ठ गरेको नाम हो । मेरो बुबा अहिले काठमाडौंमै हुनुहुन्छ, अघि फोन गरेर ‘कतिबेला घर फर्कन्छस् धुर्मुस्’ भनेर सोध्नु भो । यसले मलाई व्यक्तिगत केहि बाहेक फाईदै पु¥याएको छ । विभिन्न सेक्टरका सफल व्यक्तिहरु भेट्न आउनुहुन्छ, सायद यै धुर्मुुस भएकैले होला । सिताराम मात्रै भएको भए यो अवस्था नहुन सक्थ्यो ।

समाज सुधारका लागि सिरियलमा यहाँले विभिन्न भूमिकामार्फत सन्देश दिईरहनु हुन्छ, समाज परिवर्तनका लागि कलाकार राजनीतिमा लाग्नु आवश्यक छ ?

कलाकार राजनीतिमा आउने भन्दा पनि कलाका माध्यमबाटै राजनीतिलाई सफा गर्ने हो । अहिले त नेताले गर्ने काम हामीले गरिरहेका छौं । जनतालाई हसाउने, खुशी दिने काम त नेताहरुको हो, तर खै त ? यो महंगी, भ्रष्टाचार बढेका बेला जनता केहि समय भएपनि हाँस्न चाहन्छ । यो महंगी, भ्रष्टाचार बढाउने लाईनमा हामी किन लाग्ने ?

स्वस्थ राजनीतिका लागि के जरुरी छ ?
नेता भन्ने व्यत्ति व्यक्तिगत स्वार्थभन्दा माथी जान सक्नु प¥यो । नेतृत्व दिन सक्ने लिडरको आवश्यकता छ । विदेशी निम्तोमा जाने नेताहरुले विदेशमा केकस्ता संरचनाको विकास भए, त्यहाँका जनता कसरी खुशी र सुखी छन् त्यसको सिको र उपयोग नेपालमा गर्नुुुुु प¥यो । खाली सहमति गर्दै छौं भन्ने भनाईले जनताले पत्याउन छाडिसके । देशमा पार्टी धेरै भए, नागरिक भएनन् । नागरिकभन्दा ज्यादा पार्टीका कार्यकर्ता नहुने हो भने नागरिकले देश बनाउन सक्छन् । सच्चा नेता हुने हो भने देशको ढुकुटीमा पैसा नभए पनि नागरिकले एकएक रुपैयाँ सहयोग गरेर साथ दिन्छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार