सरकारले आजदेखि देशका विभिन्न स्थानमा दशैं-तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् । दशैं-तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् ।
आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।
कुन सामानमा कति छुट ?
सरकारले सञ्चालनमा ल्याउने सहुलियत पसलमा दैनिक अत्यावश्यक वस्तुको मूल्यमा छुट दिइन्छ । जसअनुसार नूनमा प्रति केजी २ रुपैयाँ, दालमा ५ रुपैयाँ, चिउरामा ५ रुपैयाँ, आटामा ५ रुपैयाँ, तेलमा ५ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, चामलमा ५ रुपैयाँ, खासीरबोका जिउँदो प्रतिकेजी १० रुपैयाँ,सिमी १० रुपैयाँ, फापर १० रुपैयाँ, भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।