Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

जिब्रो छेडेको पुरस्कार एम्बुलेन्स चलाउने जागिर !!


बलराम प्यासी
भक्तपुर, २ बैशाख । हरेक वर्षको बैशाख २ गते अर्थात नयाँ वर्षको दोस्रो दिन भक्तपुर जिल्लाको दोस्रो पुरानो ऐतिहासिक नेवार वस्ती मध्यपुर थिमीको बोडेमा जिव्रो छेड्ने जात्रा हुन्छ । आज शुक्रबार पनि सो जात्रा सम्पन्न भयो ।

आठपटक जिव्रो छेडिसकेका बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले तान्त्रिक विधिबाट पुजाआजा गरि शुक्रबार नवौं पटक आफ्नो जिव्रो छेडाएर बोडेको जिव्रो छेड्ने जात्राको संस्कृति र परम्परा जोगाए ।

त्यसो त उनका सहोदर दाजु कृष्णचन्द्र बाग श्रेष्ठले एक दर्जन पटक सोही जात्रामा आफ्नो जिव्रो छेडिसकेका छन् । एकसातादेखि अलिनो खाएर र जिव्रो छेड्नुभन्दा तीन अघिदेखि निराहार बसी बोडेको धर्म संस्कृति र परम्परा जोगाईराखेका कृष्णचन्द्र बाग श्रेष्ठ हुन या भाई बुद्धकृष्ण बाग श्रेष्ठ हुन्, उनलाई नगरपालिकाले प्रोत्साहनस्वरुप केही रकम दिएतापनि सरकारले भने खासै केही दिएको छैन ।

तर दाई कृष्णचन्द्रलाई मध्यपुर थिमी नगरपालिकाका तत्कालिन नगरप्रमुख मदनकृष्ण श्रेष्ठ र तत्कालिन नेपाल कोरिया मैत्री अस्पताल (हाल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल) का संस्थापक निर्देशक भिमसेन थापा (हाल स्वर्गीय) ले सो अस्पतालमा एम्बुलेन्स चालकको जागीरको व्यवस्था मिलाईदिएका थिए करीव २० वर्षअघि । जिव्रो छेडेर मध्यपुर थिमीको संस्कृति र परम्परा जोगाएको भनेर दाई कृष्णचन्द्रलाई पुरस्कार स्वरुप एम्बुलेन्स चालकको जागीर दिईएको हो ।

दाई कृष्णचन्द्रले जिव्रो छेड्दा छेड्दै अस्पतालमा एम्बुलेन्स चलाउने जागीर पाएपछि भाई बुद्धकृष्णलाई पनि सोही अस्पतालमा अर्काे एम्बुलेन्स चालक पदमा जागीरको व्यवस्था गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. दिपेन्द्र कुमार रौशन बताउँछन् ।

एम्बुलेन्स चालकको जागीर भएपछि बुद्धकृष्णले आफ्नो जिव्रो छेडाउन थालेका हुन् । आजसमेत गरि भाई बुद्धकृष्णले आफ्नो जिव्रो नौ पटक छेडाएका छन् । बुद्धकृष्ण अघि बोडेकै जुजुभाई श्रेष्ठले जिव्रो छेडाउने गर्थे । पटक पटक गरि ८ पटक जिव्रो छेडेर उनी यसबाट पछि हटेपछि बुद्धकृष्णले जिव्रो छेडाउन थालेका हुन् ।

विश्वव्यापी महामारीका कारण नेपालमा लकडाउन गरिएका कारण २०७७ साल बैशाख २ गते भने जिव्रो छेड्ने जात्रा हुन पाएन नत्र बुद्धकृष्णको यो सहित १० औं पटक जिव्रो छेडिन्थ्यो ।

अहिले दुवैजना कृष्णचन्द्र र बुद्धकृष्ण दाजुभाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थायी एम्बुलेन्स चालक छन् ।
हालसम्म बोडेका १३ जनाले यो जात्रामा आफ्नो जिव्रो छेडाईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार