काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको चर्चा यतिबेला चुलिएको छ । युवाहरुमाझ लोकप्रिय उम्मेदवारको छबी बनाएका शाह पेशाले इञ्जिनियर र ¥यापर समेत हुन् । आजको प्रेस डटकमसँगको अन्तर्वार्तामा उनले ९०८३५ मत ल्याएर मेयर पद जित्ने दाबी गरेका छन् । प्रस्तुत छ उनै बालेनसँग गरिएको विस्तृत कुराकानी:
यहाँलाई अहिले मान्छेहरुले गायकका रुपमा चिन्छन् कि नेताका रुपमा ?
नेताका रुपमा चिनेको जस्तो त अहिले पनि मलाई लाग्दैन किनकि नेता हामी बन्न खोजेकै होइन, अरु चाहिँ नेता बन्न खोजे होलान् तर हामी चाहिँ मेयरका रुपमा चिनिन चाहन्छौँ । मेयर, नेता र गायक भनेका फरक फरक हुन् ।
तपाइँले अरुको भन्दा निकै अगाडि उम्मेदवारी घोषणा गर्नुभएको थियो, त्यति धेरै हतारो चाहिँ किन गर्नुभएको ?
यहाँले भन्नुभएको ठिकै हो, मैले अरुको भन्दा अगाडि नै उम्मेदवारी घोषणा गरेँ । मैले त सोसियल मिडिया मार्फत अढाई वर्ष अघि नै यो विषयमा बोलिसकेको थिएँ । तर, अहिले सक्रिय रुपमा लागेको चाहिँ ४ महिनादेखि हो । मलाई उम्मेदवारी घोषणा गर्नु मात्रै छैन जित्नु पनि छ त्यसैले अरुको भन्दा अघि नै घोषणा गरेको हुँ ।
बालेन शाहलाई धेरैले ¥यापरका रुपमा चिनेका हुन्, पछिल्लो समयमा तपाइँ मिडियामा आएपछि इञ्जिनियरका रुपमा पनि चिन्न थाले , यतिबेला आफैंले आफैलाई चिनाउनु पर्दा चहिँ कसरी चिनाउनु हुन्छ ?
आफूले आफूलाई चिनाउनु पर्दा म नाम मात्र भन्छु , बालेन शाह । मान्छेको जीवनकालमा धेरै कुराहरु गरिन्छ , मान्छेको परिचय चाहिँ बानी व्यवहारले दिन्छ । जति समय बित्दै जाओस् आफचाहिँ पहिल्ला भन्दा असल बन्दै जानुपर्छ भन्ने लाग्छ । म आफूले आफूलाई एक असल मान्छेका रुपमा चिनाउँन चाहन्छु ।
तपाईले गायन पेशामा रहँदा वाहवाही कमाइरहनुभएको थियो । तर, राजनीतिमा आएपछि त त्यस्तो नहोला, आलोचना धेरै सहनुपर्ला । गाली पचाउने क्षमता अब बढाउनुपर्छ भन्ने लागेको छैन ?
मान्छेले काम गर्दै गएपछि गाली खाइन्छ । गीत गाउँदा होस् या अरु कुनै विधामा होस् गाली खानु भनेको स्वभाविक नै हो । कसैलाई मन पर्छ कसैलाई मन पर्दैन । जुनसुकै क्षेत्रमा काम गर्न थालेपछि के बुभ्नुपर्छ भने म केही गर्दैछु नि त । मान्छेले काम गरेपछि न गाली खान्छ, कामै नगर्दा कसले गाली खान्छ र ? मान्छेले के भन्छ भन्दा पनि आफ्नो कामलाई प्राथमिकता दिई अगाडि बढ्नु पर्छ ।
अहिले त थोरै पैसाले चुनाव जितिँदैन भन्छन् तपाइँले चुनावका लागि कति पैसा ठिक पार्नुभएको छ ?
चुनाव पैसाले जित्ने भन्ने कुरा नै मलाई गलत लाग्छ । तर, यहाँले चुनावी कार्यक्रमहरुको खर्चको कुरा गर्नुभएको हो भने चाहिँ हामी जाने कार्यक्रमहरु प्रायः उहाँहरुले नै आयोजना गर्नुहुन्छ । राम्रो कुरा चाहिँ के भएको छ भने हामीले खर्च गर्ने होइन उल्टै सांगितिक कार्यक्रमहरुमा उहाँहरुले पारिश्रमिक दिनुहुन्छ ।
तपाईको यो भन्दा अगाडि राजनितिमा प्रत्यक्ष संलग्नता रह्यो या रहेन ?
त्यस्तो छैन म स्कुल कलेज पढ्दादेखि नै स्वतन्त्र हो । त्यस्तो कुनै पनि पार्टीमा कहिल्यै आबद्ध रहिनँ ।
तपाइँ काठमाडौ महानगरपालिकामा मेयर हुनु भयो भने के के काम कसरी गर्नुहुन्छ ?
मैले मेरो प्रतिबद्धतापत्रमा यसबारे धेरै कुरा उल्लेख गरेको छु । शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, खानेपानी, फोहोर व्यवस्थापन लगायतमा आमुल सुधार गर्छु । प्रतिबद्धतापत्रमा भएका सबै कुरा अहिले भन्ने हो भने धेरै समय लाग्छ । मेरो सोसियल मिडियामा पनि प्रतिबद्धतापत्र राखेको छु । एकपटक त्यो हेर्नका लागि आग्रह गर्छु ।
तपाईले प्रस्तुत गर्नुभएका योजनाहरु मेयरमा जित्नुभयो भने सबै कार्यान्वयन गर्न सक्नुहुन्छ ?
सत प्रतिशत गर्छु । बजेटले धानेन भने केन्द्र सरकारबाट सहयोग लिन सकिन्छ । सर सहयोग जुटाएर जसरी पनि म कार्यान्वयन गरेरै छाड्छु ।
तपाइँ जितिन्छ नै भनेर यो चुनावमा हाम फाल्दै हुनुहुन्छ कि हेरौ न बालेन शाहलाई राजनीतिमा कतिको पत्याउँदा रहेछन् भनेर परीक्षण गर्नका लागि हाम फाल्दै हुनुहुन्छ ?
जित्ने कुरामा शंका छैन । हामी ९०८३५ भोट ल्याएर जित्छौं । यो हाम्रो परिपक्का भोट हो ।
तपाइँले त ज्योतिषीले झै कुरा गर्नुभयो त ? ९०८३५ मत नै प्राप्त हुन्छ भनेर कसरी थाहा पाउनुभयो ?
यो हाम्रो डाटा अध्ययनले भनेको कुरा हो । हामीले एक एक हिसाब गरेर यो निकालेका हौं ।
तपाइँ मेयर बन्नुभयो भने गाउनुहुन्छ कि गाउन छाड्नुहुन्छ ?
मेयरले गीत गाउनै नपाउँने भन्ने त नहोला नि । समय निकालेर म गाउन पनि निस्किन्छु ।








