नेकपा एमालेका तर्फबाट काठमाडौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले उम्मेदवारी दर्तापछि पत्रकारले सोधेका अधिकांश प्रश्नको ठट्यौली जवाफ दिए ।
काठमाडौं महानगरपालिकाको मेयर भएपछि के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा स्थापितले बाटोबाटोमा योजना सुनाउँदै नहिँड्ने र यस्ता मानिससँग संगत नगर्न समेत पत्रकारलाई ठट्यौली पारामा आग्रह गरे ।
गठबन्धनको भन्दा दोब्बर मत ल्याउने दाबी गरेका स्थापितले गठबन्धनले ४० हजार ल्याए आफूले ८० हजार, उनीहरुले ७० हजार ल्याए आफूले एक लाख ४० हजार ल्याउने बताए । २०५४ सालको निर्वाचनमा नै आफूले ८४ हजार ६ सय मत ल्याएको बताउँदै उनले मतपत्रमा भोट हाल्न मात्रै बाँकी रहेको र अहिले नै गेम ओभर भइसकेको बताए ।
उपमेयरमा उठेकी सुनिता डंगोलका विषयमा पनि उनले ठट्टा गरे । स्थापितले भने, ‘उहाँको स्किलको बारेमा हेर्नुहोस् त एक दिन लाग्छ । उहाँको आवाज सुन्नुहोस त लता मंगेशकर जस्तो छ । ’
केशव स्थापितमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे पनि उनले ठट्यौली जवाफ दिए । उनले भने, ‘पागलहरूलाई औषधी खान पैसा लाग्दैन ।’ केशव स्थापित विवादमा नआए केशव स्थापित नै हुँदैन भन्दै उनले भने,‘ विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? आइरहनु प¥यो। ५ सय ५० मुद्दा लागेको बेला ५० मुद्दा थपिबक्सियोस् भनेर निवेदन हाल्ने मान्छे हो क्या म । ’
मेयर विद्यासुन्दर शाक्य उम्मेदवारी दर्ता कार्यक्रममा नदेखिएको सन्दर्भमा पनि स्थापितले हलुका जवाफ दिए । विद्यासुन्दर शाक्य तपाइँको उम्मेदवारीले खुसी हुनुहुन्नँ भन्ने हल्ला छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने,‘उहाँ खुशीमा यति गदगद हुन्छ कि यहाँ आउँदाखेरी पेटमा काउकुती लाग्ला भनेर आइरहेको छैन । ’








