नेपाली कांग्रेस सहितको गठबन्धनका तर्फबाट कालिञ्चोक गाउँपालिका वडा नं ६ को अध्यक्ष पदका उम्मेदवार भरत पाण्डेले आफ्नो वडालाई नमुना वडा बनाउँने सपना रहेको बताएका छन् ।
चुनावी मैदानमा रहेका पाण्डेले घरदैलो कार्यक्रमबाटै आजको प्रेस डटकमसँग कुराकानी गर्दै ६ नं वडालाई नमुना वडा बनाउँने सपना रहेको बताएका हुन् ।
वडाबासीको हित र विकास भन्दा आफ्नो दिमागमा अरु केही नरहेको भन्दै उनले समाजसेवालाई आफूले जीवनको मूल मन्त्र बनाएको बताए । राजनीतिमा लागेपछि विकासे गफ गर्नेको जमात ठूलो भएपनि आफू भने राजनीतिमा आउनुअघिदेखि नै समाजसेवा र विकासका काममा सकृय रहेको बताए ।
आफूले लापिलाङमा गरेका कामका विषयमा लापिलाङवासी जानकार रहेको बताउँदै त्यसको मूल्यांकन गर्ने जिम्मा जनतामा रहेको उल्लेख गरे । लापिलाङका जनतासँग कामको सही मूल्यांकन गर्ने क्षमता रहेको भन्दै उनले आफ्नो कामको सम्मान रुखमा भोट हालेर जनताले गर्नेमा विश्वस्त रहेको बताए ।
कोरोनाका समयमा अलपत्र परेका जनतालाई गाउँ लैजानेदेखि लिएर गाउँमा बिरामी भई अलपत्र भएकाहरुको उपचारमा सहयोग गर्ने सम्मका काममा आफू लागेको बताउँदै उनले वडा अध्यक्षमा निर्वाचित भए समाजसेवाका अन्य काममा लाग्न थप प्रेरणा मिल्ने बताए । स्थानीय विद्यालय, संघ संस्था, खानेपानी लगायतका क्षेत्रमा आफूले गरेको कामको मूल्यांकन हुनेमा पूर्ण विश्वस्त रहेको बताउँदै उनले राजनीतिलाई आफूले समाजसेवाको पवित्र क्षेत्रका रुपमा लिने उल्लेख गरे ।
आफू वडा अध्यक्षमा निर्वाचित भए वडाको बजेटको एक पैसा पनि दुरुपयोग हुन नदिने बताउँदै पाण्डेले वडामा आएको बजेटले धेरै काम गर्न सकिने जिकिर गरे । वडाको विकासका लागि आफूसँग नयाँ भिजन रहेको र निर्वाचित भए कोही कसैलाई काखापाखा नगरी सबैको सल्लाह र सुझावका आधारमा अघि बढ्ने भन्दै उनले राजनीतिमा नयाँ संस्कार स्थापनाका लागि पनि आफू र आफ्नो टीमलाई मतदान गर्न आग्रह गरे ।








