Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

म ठूला कुरा गर्दिनँ, पिसाब गर्दा पैसा नचाहिँने शौचालयहरु बनाउँछु : सिर्जना सिंह


काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयर पदको उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्नो ध्यान ठूला कुरामा नभई साना काममा रहेको बताएकी छिन् ।

शंकरदेव क्याम्पसका पूर्व विद्यार्थीहरुका तर्फबाट आयोजना गरिएको कार्यक्रममा बोल्दै सिंहले ठूला कुरा भन्दा महानगरवासीलाई साना साना काम चाहिएको बताइन् । महानगरका सार्वजनिक शौचालयमा पिसाब गर्दा समेत पैसा तिर्नुपर्ने अवस्थाले आफूलाई नराम्रो लागेको बताउँदै उनले सफा र निःशुल्क शौचालय आफ्नो योजनामा रहेको सुनाइन् ।

उनले भनिन्,‘ हुनेले त पैसा तिरेर पिसाब गर्ला तर, नहुनेले के गर्ने ? बाटो हिँड्दा पिसाबले च्याप्यो भने होटल रेष्टुरेन्टमा छिरेर खान मन नलागेपनि एक कप चिया खाएपछि मात्रै पिसाब फेर्न पाइन्छ । चियाकै ६०÷६५ रुपैंयाँसम्म तिर्नुपर्ने अवस्था छ । श्रमिक र विद्यार्थीले त्यो पैसा कहाँबाट तिर्ने ?’ कुरा सामान्य जस्तो लागेपनि महानगरमा यो ठूलो समस्याका रुपमा रहेको बताउँदै सिर्जनाले भनिन्,‘ निःशुल्क रुपमा ठाउँ ठाउँमा सफा शौचालयहरु व्यवस्था गर्ने मेरो योजना छ ।’

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सिर्जना सिंहको कुराले निकै मन छोएको बताएका थिए । कुरा ठूला गर्ने तर, काम केही नगर्ने मेयरबाट आजित भएका कारण पनि सिर्जनालाई जिताउँनैपर्ने उनीहरुको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार