काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयर पदको उम्मेदवार रहेकी सिर्जना सिंहलाई भोट माग्दै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केशव स्थापित डेट एक्स्पाएर ओखती भएको बताएका छन् ।
राजधानीमा बिहिबार गोरखा काठमाडौं चुनाव प्रचार समूहले आयोजना गरेको कार्यक्रममा भट्टराईले काठमाडौं महानगरपालिकाका लागि सिर्जना सिंह जति योग्य उम्मेदवार अरु कोही नभएको बताए ।
उनले भने,‘ उहाँमाथि परिवारवादको आरोप लाग्ने गरेको छ तर, त्यस्तो होइन उहाँ आफ्नै बलबुँतामा माथि आएको महिला हो । ’ केशव स्थापितले हावादारी कुरा मात्रै गर्ने गरेको बताउँदै उनले सिर्जना सिंहको चुनावी प्रतिबद्धता पत्र व्यवहारिक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको जित निश्चित भएको जिकिर गरे । उनले सिर्जना सिंहको राजनीतिक यात्रा अहिलेदेखिको नभई गोरखादेखिकै भएको समेत बताए ।








