निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिन ४८ घन्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नहुँदासम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई पत्र पठाएको छ ।
आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको हो ।
मादक पदार्थ निषेधलाई प्रभावकारी बनाइने
यसैगरी स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नहुँदासम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन निषेध गर्न समेत गृह मन्त्रालयलाई पत्र पठाउने आयोगले निर्णय गरेको छ ।








