काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार रहेका दीपक सिलवाल राज्यले हेलिकोप्टर किनिदिनुपर्ने माग गर्दै तीन दिनयता आमरण अनसन बसिरहेका छन् ।
दुर्गम भेगमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उनीहरुको उद्धारमा प्रयोग गर्नका लागि राज्यले हेलिकोप्टर किनिदिनुपर्ने मागका साथ उनी आमरण अनसनमा बसेका हुन् ।
राजधानीको मध्य बानेश्वरमा रहेको एक होस्टेलमा आमरण अनसन बसेका सिलवालले मेयरमा उम्मेदवारी दिएपछि आफ्ना मागबारे सुनुवाई हुने सोचेर आमरण अनसन बसेको बताए । अनसनबारे आजको प्रेस डटकमसँग भिडियो कुराकानी गर्दै सिलवालले भने, ‘ नेता बनूँला, मेयर बनौंला भनेर मैले उम्मेदवारी दिएको होइन, उम्मेदवारी दिएर आमरण अनसन बस्दा माग पूरा गराउँन दबाब होला भन्ने सोचेर चाहिँ मेयरको उम्मेदवारी दिएको हुँ ।’
आफू वर्षौंदेखि गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धारमा खटिएको बताउँदै उनले राज्यले जम्मा दुईवटा मात्रै हेलिकोप्टर त्यस्ता महिलाहरुका लागि छुट्याउने हो भने धेरैको ज्यान जोगिने बताए । व्यक्तिगत खर्चमा हेलिकोप्टरबाट आफूले १२ जना महिलाहरुको उद्धार गरिसकेको जानकारी दिँदै उनले आफ्नो सम्पति र जायजेथा हेलिकोप्टर चार्टरमा नै सकिएको दाबी गरे ।








