पत्रकारहरुलाई निर्वाचनका दिन रिपोर्टिङ गर्न विशेष पास नचाहिने भएको छ । नेपाल पत्रकार महासंघ र निर्वाचन आयोगबीच बिहिबार भएको छलफलपछि पत्रकारहरुलाई सूचना विभागले जारी गरेको पासका आधारमा रिपोर्टिङ गर्न दिने सहमति भएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले दिएको जानकारी अनुसार सूचना विभागले जारी गरेको पास नभएका पत्रकारहरुको हकमा सम्बन्धित सञ्चार माध्यमले गरेको सिफारिसका आधारमा पासको व्यवस्था गरिनेछ ।
यसअघिका निर्वाचनहरुमा पत्रकारहरुलाई रिपोर्टिङका लागि जिल्ला प्रशासन कार्यालयबाट विशेष पास लिनुपर्ने व्यवस्था थियो । सूचना विभागको पास भएकाहरुले पनि विशेष पास लिनुपर्ने व्यवस्थाका कारण रिपोर्टिङमा जान पत्रकाहरुलाई असजिलो हुने गरेको थियो ।





