Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

विवकेशील साझाले भन्यो : अपेक्षाकृत नतिजा नआउँदा अत्यन्तै दुःखी छौं


विवेकशील साझा पार्टीले अपेक्षाकृत नतिजा नआउँदा अत्यन्तै दुःखी बनेको जनाएको छ ।

पार्टीका तर्फबाट प्रवक्ता शरदराज पाठकले विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचन २०७९ को निर्वाचन आउने क्रम जारी रहँदा विवकेशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी रहेको जनाएका हुन् । विवकशील साझाका तर्फबाट उनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :

प्रेस विज्ञप्तिः
स्थानीय निर्वाचन २०७९ को जारी नतिजाबारे
स्थानीय निर्वाचन, २०७९ को परिणाम आउने क्रम जारी छ। विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौं ।
गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौं । त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो ।

साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुप¥यो । हाम्रो जस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौं । अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन । गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौं । यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौं ।
कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन् । अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।

वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन । यो हाम्रो प्रतिबद्धता हो ।
गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ । ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ ।

अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ ।
त्यसै गरी, निर्वाचन लगायत पार्टीको सम्पूर्ण उथलपुथलमा साथ दिने, नैतिक, आर्थिक र भौतिक सहयोग गर्ने सम्पूर्ण नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
२ जेठ, २०७९


प्रतिक्रिया दिनुहोस !
विचार