विवकेशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्य भने नत्यागेको बताएका छन् । अध्यक्ष पदबाट राजीनामा दिएपनि पार्टीको साधारण सदस्य भने आफू रहेको उल्लेख गर्दै उनले यसअघि पार्टीबाट अलग भएकालाई पार्टीमा फर्कन र कारबाही गरेकाहरुको कारबाही फिर्ता लिन कार्य सम्पादन समितिलाई आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचनमा नराम्रो पराजय बेहोरेपछि पार्टीको नेतृत्वकर्ताका हैसियतले नैतिक जिम्मेवारी लिँदै अध्यक्षबाट राजीनामा दिएका मिश्रको राजीनामालाई कतिपयले रणनीतिक चालबाजीका रुपमा अथ्र्याएका छन् भने कतिपयले राजनीतिमा देखाएको नैतिकतामा रुपमा लिएका छन् ।
सुसंस्कृत राजनीति गर्छौं भन्ने नेताले पार्टीको हारपछि राजीनामा दिनुलाई इमान्दरपूर्ण कदमका रुपमा केहीले लिइरहँदा अबको उनको यात्रा के होला भन्ने कौतुहलता भने पार्टीभित्र र बाहिर उब्जिएको छ ।
करिब ५ वर्षअघि बिबिसी नेपाली सेवाको लोभलाग्दो जागिर छाडेर वैकल्पिक शक्ति निर्माणका लागि राजनीतिमा हाम फालेका मिश्रले राजनीतिक यात्राबाट हार खाएको विश्लेषण भने एक तहमा नभएको होइन । तर, उनीभित्रको राजनीतिक महत्वाकांक्षा स्थानीय तहको यो निर्वाचनले नै धुलिसात बनाएको रुपमा भने बुझ्न नहुने विवेकशील साझा पार्टीकै केही नेताहरुको भनाई छ ।

उनी निकटका एक नेताले मिश्रको राजनीतिक यात्रा टुंगिएको नभई नयाँ कोणबाट शुरु हुन लागेको बताए । उनले भने, ‘ मिश्रको राजनीतिक इमान्दारिताले उनको राजनीतिक उचाई अझ थप बढाएको छ, तपाइँ हेर्दै जानुहोला मिश्रले राजनीतिक फड्को मार्दैछन् । ’
अध्यक्ष पदबाट मिश्रले राजीनामा दिइसकेपछि उनी निटकका केही केन्द्रीय सदस्यहरु पनि नैतिकताका आधारमा भन्दै धमाधम राजीनामा दिने तयारीमा रहेको बुझिएको छ । नैतिकताका आधारमा भन्दै अन्य केन्द्रीय सदस्यहरुले पनि राजीनामा दिने संकेत पाएपछि तल्लो तहका कार्यकर्ताहरु पार्टीलाई अलपत्र पारेर उम्कँन पाइदैन भन्दै दबाब दिन थालेका छन् । राजीनामालाई राजनीतिक नैतिकतासँग जोडेर मात्रै विश्लेषण गर्नु अर्को अनैतिक काम भएको केहीको तर्क छ । पार्टीलाई अलपत्र पारेर रवीन्द्र मिश्र लगायतका नेताहरु उम्कँन खोजेको रुपमा केहीले बुझेका छन् ।
यसअघि पार्टीभित्रको असन्तुष्ट पक्ष भने मिश्रले केहीदिन नैतिकता देखाए जस्तो गरेपनि फेरि पार्टी नेतृत्वमा आउने नयाँ रणनीतिमा रहेको बुझाईमा छ । सँगसँगै मिश्र अब राप्रपामा प्रवेश गर्छन् भन्ने पनि त्यो पक्षको आशंका छ । असन्तुष्ट पक्ष भने मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि समग्रमा सन्तुष्ट नै देखिएको छ । काठमाडौं महानगरपालिकामा विवेकशील साझाका उम्मेदवारलाई हराउँन खुलमखुल्ला बालेन शाहको पक्षमा उभिएको त्यो समूह भने अब विस्तारै बालेनहरुलाई पार्टीमा भित्रयाएर केही गर्न सकिन्छ कि भन्ने सोचमा देखिन्छ । तर, बालेन शाह अहिल्यै कुनै पार्टीमा लाग्ने पक्षमा देखिदैनन् ।

रवीन्द्र मिश्रको अबको यात्रा के हुन सक्ला भन्ने विषयमा विभिन्न अड्कलबाजीहरु भइरहेपनि स्वयं मिश्रले भने अबको यात्राका विषयमा केही बोलेका छैनन् । विवेकशील साझा पार्टीको साधारण सदस्य रहने जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत गराएपनि उनी पार्टीको साधारण सदस्य मात्रै रहेर बस्छन् भन्ने विश्वास भने कमैमा छ ।
मिश्रसँग लामो समय निकट रहेर पछिल्लोपटक पार्टीबाट अलग भएका एक नेता भन्छन्, ‘ लेखेर राख्नुहोला मिश्र कसैको कार्यकर्ता मात्रै भएर बस्दैनन्, कि त उनी अब स्वतन्त्र मुभमेन्टमा लाग्छन् कि त महाधिवेशनबाट फेरि पार्टीको अध्यक्ष बन्छन् । ’
राजनीतिक विश्लेषक आनन्दराम पौडेलको बुझाई पनि लगभग उस्तै छ । कुनैबेलाका चर्चित पत्रकार रवीन्द्र मिश्रको नशा नशामा राजनीति बग्न थालिसकेकाले अब उनी निस्कृय रुपमा बस्न नसक्ने पौडेलको ठम्याई छ । बरु आफू निकटहरुबाट पार्टी रिफर्म गराएर फेरि नेतृत्वमा रवीन्द्र मिश्र आउने उनको बुझाई छ । विल्लेषक पौडेल भन्छन्, ‘ केहीले आशंका गरे जस्तो रवीन्द्र मिश्र राप्रपा जाँदैनन्, राजावादीको भविष्य छैन भन्ने उनले बुझेका छन् ।’








