Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

काठमाडौंका मेयर बालेन शाहबारे विस्तृत जानकारी, को हुन् उनी ?


काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका ३२ वर्षे बालेन शाह पेशाले इन्जिनियर हुन् । उनको वास्तविक नाम बालेन्द्र शाह हो । अहिलेको पुस्ता माझ ¥यापरका रूपमा चिनिएका बालेन शाह काठमाडौंको नरदेवीमा जन्मिएका हुन् भने उनको पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो । तर, काठमाडौंमै जन्मिएका बालेन शाहलाई काठमाडौंका बारेमा जति थाहा छ आफ्नो पुख्र्यौली घर र गाउँका विषयमा त्यति थाहा छैन ।

बालेनका बुवा रामनारायण शाह आयुर्वेदिक डाक्टर हुन् । उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गर्थे । लामो समय त्यहाँ काम गरेपछि उनी सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए । बालेनको जन्मताका उनको परिवार नरदेवी आयुर्वेदिक अस्पतालको क्वार्टरमा बस्ने गरेको थियो । आमा, बुवा एक दाजु र एक बहिनी सहित बालेनको परिवार नरदेवी आयुर्वेदिक अस्पतालको क्वार्टरमा बस्थ्यो ।
नरदेवीको जलजला माध्यमिक विद्यालयमा उनले शुरुवाती शिक्षा लिएका हुन् । हाल काठमाडौंको गैह्रीगाउँमा बस्दै आएका बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैयाबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

केही समयअघि बालेन सविना काफ्लेसँग विवाह बन्धनमा बाँधिएका हुन् । कामका सिलसिलामा देशका ६५ जिल्ला घुमिसकेका बालेनको मेयर बन्ने तयारी भर्खरैदेखिको होइन । उनी गएको ५ वर्षदेखि नै काठमाडौंको मेयर बन्ने तयारीमा लागेका थिए । ५ वर्षअघि २७ वर्षको उमेर थियो बालेन शाहको । ५ वर्षअघिको स्थानीय तहको चुनावका दिन उनले अर्को चुनावमा आफैंलाई भोट हाल्ने घोषणा गरेर एउटा फेसबुक स्टाटस लेखेका थिए ।

उनले त्यतिबेला लेखेका थिए , ‘मैले आज भोट हालिनँ । म उम्मेदार पनि थिइनँ । मैले सिभिल इञ्जिनियरिङमा ब्याचलर्स गरेको छु र स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गर्दैछु । मलाई देश कसरी बनाउँनुपर्छ भन्ने थाहा छ । अर्को चुनावमा म भोट हाल्नेछु । त्यो भोट म आफैंलाई हाल्नेछु । म मेरो देशको विकास गर्नेछु । मलाई अरु कसैको भर लाग्दैन । ’

त्यसपछि उनले फेरि सन् २०२० को अगस्ट ६ मा काठमाडौंको मेयर बन्ने चाहनाका साथ अर्को फेसबुक स्टाटस लेखेका थिए । उनले आफू सिभिल इञ्जिनियर भएको , काठमाडौं सहित देशका विभिन्न स्थानमा भवनको काम गरेको उल्लेख गर्दै लेखेका थिए : मलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठ्नु छ के तपाईँ हरु आशिर्वाद दिनु हुन्छ ? त्यो फेसबुक स्टाटसमा उनका फलोअर्सहरु मध्ये कतिपयले शुभकामना ब्रो भनेर कमेन्ट गरेका थिए त कतिले हावामा उडाइदिएका थिए ।

पछिल्लोपटक मेयरमा उम्मेदवारी दिनुअघि बालेनले समाजका प्रतिष्ठित व्यक्तित्वहरुदेखि लिएर पूर्व मेयर केशव स्थापितसम्मलाई भेटेका थिए । महाविर पुनदेखि लिएर सन्दुक रुइत, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायतसँग उनले भेटेका थिए ।

बालेन उम्मेदवारी घोषणा गरेदेखि नजितेसम्म सार्वजनिक रुपमा जहिल्यै एउटै गेटअपमा देखिए । कलेजी रंगको कोट, कालो टिसर्ट, कालो चस्मा र दाह्री उनले छोड्दै छोडेनन् ।

उनको उम्मेदवारी घोषणापछि सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु बाहको पक्षमा खुलेका थिए । तर, पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि शाहका पक्षमा खुल्दै गए । चुनावी प्रचारका क्रममा उनले प्रतिस्पर्धीहरुको मन दुखाउँने र प्रतिस्पर्धीका समर्थक र शुभेच्छुकहरुलाई चिढाउने काम गर्दै गरेनन् । मिडियाको भरपुर उपयोग गरे उनले । सामाजिक सञ्जालको उपयोगमा उनी यसरी लागिपरे कि उनका प्रतिस्पर्धीहरुले उनलाई भेट्नै सकेनन् ।

चुनावका दिन उनले साइत हेराएर भोट हाले । बिहान ११ बजेर ३ मिनेटको साइतमा भोट हालेका बालेनले मतगणनाको शुरुदेखि नै अग्रत लिए र त्यो अग्रतालाई अन्तिम सम्म कायम राखे । अन्तिम सम्म आइपुग्दा बालेन शाहको अग्रता अत्यन्तै फराकिलो रहयो । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २३४२६ मत बढी ल्याएर चुनाव जिते ।

बालेन शाहले ६१७६७ मत ल्याउँदै गर्दा सिर्जना सिंहले ३८३४१ मत ल्याइन् । बालेन शाहले चुनाव अघिका अन्तर्वार्तामा यति आत्मविश्वासका साथ प्रस्तु हुन्थे कि उनले आफूले निर्वाचनमा ९०८३५ मत ल्याएर चुनाव जित्ने दाबी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार