काठमाडौं महानगरपालिकाको मेयरको निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बधाई ज्ञापन गर्ने नाममा मेयर पदका बिजेता बालेन शाहलाई घुमारो भाषामा चेतावनी दिएका छन् ।
नतिजा घोषणापछि शुक्रबार दिउँसो एक वक्तव्य जारी गर्दै उनले यो निर्वाचन परिणामबाट आफू कत्ति पनि विचलित नभएको बताएका छन् । “म पटकपटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको छु ।” उनले भनेका छन् ।
वक्तव्यमा उनले काठमाडौंको माटो, यहाँको सम्पदा, संस्कृतिप्रति अगाध प्रेम रहेको बताएका छन् ।
“काठमाडौं म र मेरो पुस्तौं पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँका सम्पदा, यहाँका संस्कृति र यहाँको विकास र समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।” वक्तव्यमा उनले भनेका छन्, “जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । तर यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धर्मराएको छैन ।”
“निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन शाहलाई म शुभकामना भन्न चाहन्छु ।” उनले भनेका छन्, “काठमाडौं महानगरवासीले तपाईंमाथि भरोसा गर्दै मतपत्रमा खसालेका एकएक मतको सम्मान गर्नु हुन्छ भन्ने मैले अपेक्षा लिएको छु ।”
वक्तव्यमा उनले चेतावनीको भाषामा भनेका छन्, “तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खबरदारी गरिरहने छु ।”








