Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेन पत्नी सविनाले दिइन् भावुक बधाई सन्देश


काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भएसँगै उनकी पत्नी सविना काफ्लेले भावुक बनाउने खालको जिम्मेवारपूर्ण बधाई दिएकी छिन् ।

“आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ । शिर उचालिएको छ ।” उनले फेसबुकमा लेखेकी छिन्, “तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिनरात नभनी तिमीले गरेको मिहिनेतको फल आज सबै सामू प्रस्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन !”

उनी बालेनका आगामि दिनहरु कति सफल हुने हुन् भनेर डराएकी पनि छिन् । भनेकी छिन्, “घरिघरि डर पनि लाग्छ । अगाडि विशाल भवसागर छ । बाधा, अडचन र चुनौतीहरुको अड्कल काट्न पनि मन डराउँछ । तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ ।”

दिपलता नामक पुस्तककी लेखिका समेत रहेकी सविनाले आफ्ना पतिलाई ढाढस समेत दिएकी छिन् ।

“चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तो गाह्रो होला तर असम्भव छैन ।” उनले लेखेकी छिन्, “तिमीलाई आफ्नो कार्यकालमा कहीँ कतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्न नपरोस् । पछाडि फर्केर हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहून्, ती अगाडि बढिरहेका पाइलासँग साथमा हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।”

सविनाले बालेनलाई कहिल्यै हार्न नदिने दृढ प्रतिज्ञा समेत गरेकी छिन् । काव्यात्मक शैलीमा भनेकी छिन्, “घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिल्यै पनि हार हुँदैन । म तिमीलाई कहिल्यै पनि हार्न दिने छैन । मेरा हरेक प्रार्थना तिम्रो सफलता हुनेछ ।”

अन्त्यमा उनले लेखेकी छिन्, “तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।”

उनको फेसबुक पोस्टमा धेरैले बधाई दिइरहेका छन् । कतिपयले लेखेका छन्, “श्रीमानको सफलतामा श्रीमतीको हात हुन्छ भन्ने कुरा प्रमाणित भएको छ ।”


प्रतिक्रिया दिनुहोस !
विचार