काठमाडौं महानगरपालिकाको निर्वाचन नतिजा घोषणासँगै मेयर विजेता बालेन शाहले शुक्रबार बिहान धन्यवाद ¥याली आयोजना गरे । उक्त ¥यालीमा बालेनको दायाँ पट्टि प्रसन्न मुद्रामा मेयरका प्रतिष्पर्धी सुमन सायमी देखिएनन् मात्रै, सहरभरि सँगसँगै यात्रा गरेर बिजय यात्रामा बालेनलाई साथ दिए ।
उक्त ¥यालीमा बालेन गम्भीर मुद्रामा देखिएका थिए भने सुमन सायमी एकदमै प्रसन्न मुद्रामा । तस्बिरमा उनको प्रसन्नता देख्दा आम मानिसलाई उनी नै विजेता हुन् कि भन्ने पनि भान पर्छ ।
चुनाव हारिसकेपछि कुना पस्न छाडेर विजेताको ¥यालीमा सँगसँगै हिँड्नु जो कोहीको बसको कुरा होइन । त्यसका लागि निकै फराकिलो छाती र लोकतान्त्रिक चरित्रको आवश्यकता पर्छ । सुमनले शुक्रबार बालेनको जुलुसमा सहभागी भएर देखाएको लोकतान्त्रिक चरित्र एवम् उदार भावनालाई लिएर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।
आँखीझ्याल चिन्ह लिएर चुनाव लडेका सुमन सायमी सडक बिस्तारका नाउमा काठमाडौंका रैथानेहरुलाई बिस्थापित गर्ने सरकारी नीतिको बिरोध गरेर उदाएका सामाजिक अभियन्ता हुन् ।
दुई वर्षअघि एमाले सरकारले अघि सारेको गुठी विधयेकका विरुद्ध काठमाडौंबासीहरुलाई सडकमा उतार्ने कामको अगुवाई गरेपछि उनको चर्चा अरु चुलिएको थियो । दुई तिहाइ बहुमतको आडमा जे पनि गर्न सकिन्छ भन्ने दम्भ पालेको केपी ओली नेतृत्वको सरकार जनताको उभार देखेपछि गुठी विधयेक फिर्ता लिएर पछि हट्न बाध्य भएको थियो ।
दुई तिहाइ नेतृत्वको सरकारलाई समेत पछि हट्न बाध्य पार्ने सुमन सायमी यसपटक जीतको आशामा थिए । तर उनले १३ हजार ७७० मत मात्रै ल्याए । ३८ हजार ३४१ मत ल्याएर नेपाली काङ्ग्रेसकी सिर्जना सिंह दोस्रो अनि ३८ हजार ११७ मत ल्याएर एमालेका केशव स्थापित तेस्रो भए । सुमन सायमी चौथो स्थानमा रहे ।
देशभर चिनिएका, सांगठानिक सञ्जाल भएका राप्रपा, विवेकशील साझा, नेमकिपा आदिका उम्मेदवारहरुलाई पछि पार्दै स्वतन्त्र हैसियतमा लडेर चौथो स्थान ल्याउनुलाई चानचुने सफलता भन्न सकिन्न । यो उनको ठूलो सफलता हो ।
बालेनसँगको प्रसन्न मुद्राको सुमन सायमीको फोटो आफ्नो फेसबुकमा पोस्ट गर्दै राप्रपा नेतृ अञ्जना शाह रावलले लेखेकी छिन्, “प्रतिष्पर्धी हुनु त यस्तो… । हारलाई पनि सहज रुपमा लिनु पनि जितेसरह नै हो ।”
कतिपयले चाहिँ सुमनको यो सहभागिता र प्रसन्नतालाई अर्थपूर्ण रुपमा हेरेका छन् । एकजना विश्लेषकका अनुसार बालेनको विजय जुलुसमा सुमनको सहभागिता भनेको काठमाडौंको सम्पदा बुझेका सुमनलाई साथ लिएर अघि बढ्ने बालेनको तयारी हो ।
त्यसो त बालेनका बिरोधीहरुले यसलाई अर्को अर्थमा पनि व्याख्या गरेका छन् । उनीहरुका अनुसार काठमाडौंको भित्री सहर अर्थात् ‘कोर एरिया’ भन्ने गरिएको नेवारी इलाकाको भोट एमाले उम्मेदवार केशव स्थापितलाई नजाओस् र बालेनको जीत सुनिश्चित होस् भन्नका लागि उठाइएका प्रायोजित उम्मेदवार थिए सुमन । बालेनको बिजय जुलुसमा प्रसन्नताका साथ सुमन सहभागी हुनुले यो आशंकालाई पुष्टि गरेको जिकिर उनीहरुको छ ।
तर सुमनलाई नजिकबाट चिन्नेहरुचाहिँ उनीमाथि ‘प्रायोजित उम्मेदवार’को लाञ्छना लगाउन नहुने बताउँछन् । सुमनका नजिकका साथी समेत रहेका एक दैनिक पत्रिकासम्बद्ध पत्रकार भन्छन्, “सुमनमाथि त्यस्तो तुच्छ लाञ्छना लगाउनु भनेको उनीमाथि घोर अन्याय हो । उनले विगत लामो समयदेखि सम्पदा संरक्षणमा गर्दै आएको योगदानको अवमूल्यन हो ।”








