नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा भइरहेको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई यति कडा चुनौती दिएका हुन् ।
“पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो, दोस्रो पटक पनि हाम्रै सहयोगले प्रधानमन्त्री हुनु भएको हो ।” उनले भने, “अबको चुनावपछि पनि प्रधानमन्त्री भएर देखाउनुस् अनि मानौंला ।”
दुई तिहाइको सरकार, प्रदेश सरकार र राष्ट्रिय सभा सदस्य गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।
“पुनर्समीक्षामा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने काम मात्रै गरिरहनु भएको छ” ओलीलाई सच्चिन आग्रह गर्दै प्रचण्डले भने, “मेरो दृष्टिमा तपाईं आफ्नो अहंकार र दम्भबाट अझै पछाडि हट्नुभएको छैन ।”
त्यस क्रममा उनले धरान र काठमाडौंका मेयर बिजेताहरुको पनि खुलेर प्रशंसा गरे ।
“कतिपय बुद्धिजीवीहरूले स्वतन्त्र उम्मेदवारहरूले मेयरहरू जित्नु राजनीतिक दलहरूलाई राम्रो झापड भनेर विश्लेषण गरिरहनु भएको छ ।” उनले भने, “मैले चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि नयाँ फूलहरू फक्रिएको ठान्छु ।”
“एकथरीको भनाइ छ कि राजनीतिक दलहरूका निम्ति राम्रै झापड, थप्पड, चुनौती हो भनेर आइराख्या छ । अहिलेको स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानमा जुन विचार, प्रवृत्तिसहित जुन संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो । त्यसलाई विशिष्ट मान्नुपर्छ”, उनले भने ।
उनीहरूबाहेक अन्य ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई भने स्वतन्त्र भन्न नमिल्ने धारणा प्रचण्डले राखे । पार्टीका नेताहरू नै विजयी ¥यालीमा हिँडेका कारण उनीहरूलाई स्वतन्त्र भन्न नमिल्ने उनको तर्क छ ।
“स्वतन्त्र भनेर सबै स्वतन्त्र भएको म देख्दिनँ । बडो विशिष्ट ढंगले दुइटा पात्र, काठमाडौं र धरानको मेयरमा विजयी भएका उहाँहरू साँचो रूपमा स्वतन्त्रका रूपमा आउनुभयो । र कोही पार्टी उहाँहरूका पछाडि । पार्टीका नेताहरूका पछाडि लागेर हिँडेको देखिएन,” उनले भने, “बाँकी स्वतन्त्र भनिए पनि उहाँहरू स्वतन्त्र होइनन् पार्टी नै हो ।”





