रोल्पा कारागारमा जेठ ४ गते शंकास्पद अवस्थामा मृत भेटिएका सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रुपमा छानविन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा गठन भएको उक्त समितिमा गृहकै उपसचिव झङ्कनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले गठन गरेको उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
शंकास्पद मृत्यु भएपछि सुन्दर हरिजन सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको रहस्य सार्वजनिक भएको थियो ।
यस विषयमा नेकपा माओवादी केन्द्रकी अञ्जना बिसंखे लगायतका सांसदले प्रतिनिधिसभा बैठकमा तत्काल छानविन गरी दोषीलाई कडा कारवाही हुनुपर्ने माग उठाएका थिए ।
यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिले सोमबार नै आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।








