तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ डम्पिङ नजिक सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ ।
गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिदाँ बा १० च ४६७९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा भेटिएका दुई शब मध्ये एकको सनाखत भएको छ।

बा १० च ४६७९ नम्बरको कार पुरिँए संगै मर्स्याङ्दी नदीमा भेटिएका दुई मध्ये एउटा शब गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको छ । मानवीय क्षति अन्य पनि हुन सक्ने भएकाले खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरु मर्कामा परेका छन् ।
आँबुखैरेनी गाउँपालिकाका इन्जिनियरहरु घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिए ।









