काठमाडौं, १७ असार । शुक्रबार एकाविहानै वरिष्ठ अभिनेता राजेश हमाल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन उनको निवास खुमलटार पुगे ।
उता प्रचण्ड भने मिनभवन, शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा विद्यार्थी माझ पुगिसकेका थिए । फरक यति थियो कि अभिनेता राजेश हमालले सक्कली प्रचण्ड भेटेका थिए भने बेबिलोनमा विद्यार्थीमाझ पुगेका नक्कली प्रचण्ड टेलिसिरीयलहरुमा प्रचण्डको क्यारिकेचर गर्ने कलाकार घनश्याम गौतम थिए ।

म्युचल एकेडेमिक एक्टिभिटिज फोरम ‘माफ’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा तेस्रो भएका बेबिलोनका विद्यार्थीलाई पुरस्कार वितरण गर्न कलाकार गौतम बेबिलोन स्कुलमा पुगेका थिए । सो विद्यालयकी १० कक्षाकी छात्रा प्रकृति कुमारी साह उक्त प्रतियोगितामा तेस्रो भएर पुरस्कार जितेकी थिइन् । सोहि अवसरमा कलाकार गौतमले उक्तविद्यालयले विभिन्न मितिमा आयोजना गरेको आन्तरिक वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
विद्यालयमा पुगेका नक्कली प्रचण्डलाई विद्यालयका प्रिन्सिपल राजु राईले स्वागत गरेका थिए भने बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राईले विद्यालयको तर्फबाट उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा नक्कली प्रचण्डले सक्कली प्रचण्डको नक्कल (क्यारिकेचर) गरेका थिए ।






