१८ पुराणको नेपाली अनुवाद गरेका डा. बद्री पोखरेलले संस्कृत भाषाप्रति विदेशीहरुको मोह बढदै गएको तर, नेपालीले यसको महत्व नबुझेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राजधानीमा योगेश्वर स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमानमा पुराणको सान्दर्भिकता’ विषयक कार्यक्रममा पोखरेलले विदेशी विश्वविद्यालयहरुले संस्कृत भाषाको पठनपाठनमा जोड दिँदा नेपालमा भने यसलाई बेवास्ता गरिनु चिन्ताको विषय भएको बताए । यस्तै अवस्था रहिरहे अबको १५/२० वर्षपछि नेपालमा विदेशी आएर संस्कृत भाषाको पठनपाठन गराउने उनको भनाई छ ।
वर्तमानमा पुराणको सान्दर्भिकता धेरै रहेको बताउँदै उनले पुराणहरु विज्ञानसम्मत रहेको दाबी गरे । नासाले संस्कृत भाषाको सान्दर्भिकता बुझेर नै संस्कृतलाई कम्प्युटरको भाषा बनाउन लागिपरेको जनाउँदै उनले पुराणहरुलाई कर्मकाण्डसँग जोडेर मात्रै हेर्न नहुने बताए ।
आफूले विद्यालय तथा कलेज तहमा पढेको गणित विषयका सूत्र नारद पुराणमा रहेको जानकारी दिँदै पोखरेलले औषधोपचार सम्बन्धी कुराहरु गरुण पुराणमा रहेको बताए । १८ वटै पुराण जीवनउपयोगी रहेकोमा जोड दिँदै उनले यसको महत्व युवा पुस्तालाई बुझाउनु जरुरी रहेको बताए ।








