बारामा दुईजना दाजुभाइ मिलेर आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन् । प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेको भन्दै दुई दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेका हुन् ।A
हत्या गर्ने दुबै सोही गाउँपालिका वडा नम्बर–५ इटियाही टोलकै २८ वर्षीय उत्तम पटेल र निजकै दाजु ३० वर्षीय प्रितम पटेल रहेका प्रहरीले जनाएकाे छ । गत २४ साउनमा मृतक ठाकुर ट्युशन पढ्न पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साइकलमा गएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनलाई २७ साउनमा नगवामा टेलर सञ्चालन गरी बस्दै आएका दुबै दाजुभाइले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीकाे दाबी छ ।
हत्यापछि शवलाई बोरामा राखेर ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा बोकेर भारतको रक्सौल रेल्वे स्टेशनमा लगि रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली स्थानमा छाडेर फर्केको खुल्न आएको प्रहरीले जनाएको छ ।
बारा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझेर अनुसन्धान गर्दा हत्या गर्ने दुबै दाजुभाइलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डीएसपी राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाले बहिनीसँग प्रेम सम्बन्ध राखेका कारण ठाकुरको हत्या गरेको स्वीकारसमेत गरेको डीएसपी थापाले बताए । पक्राउ परेका दुबै जना दाजुभाइलाई अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अघि बढाइएको थापाले जानकारी दिए ।








