Logo
२८ श्रावण २०८३, बिहीबार
|  Fri Aug 14 2026

स्पेनका लागि नेपाली राजदूत र हस्तकला महासंघका पदाधिकारीबीच भेटवार्ता


स्पेनका लागि नेपाली राजदूत डा.शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघका पदाधिकारीहरुले बधाई ज्ञापन गरेका छन् । महासंघको कार्यालयमा स्वागत गर्दै महासंघका पदाधिकारीहरुले राजदूत पराजुलीलाई बधाई ज्ञापन गरेका हुन् । सो अवसरमा महासंघका पदाधिकारीहरुले स्पेनमा नेपाली हस्तकलाका वस्तुहरुको प्रवद्र्धनमा भूमिका निर्वाह गर्न राजदूतलाई आग्रह समेत गरे ।

महासंघको कार्यालयमा नवनियुक्त राजदूतलाई स्वागत गर्दै महासंघका अध्यक्ष प्रचण्ड शाक्यले स्पेनमा नियमित रुपमा हुने व्यापार मेला तथा प्रदर्शनीहरुमा नेपाली हस्तकला उद्यमी व्यवसायीहरुको सहभागिताका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे । हस्तकला क्षेत्र रोजगारी सिर्जनासँगै विदेशी मुद्रा भित्राउने निर्यातमूलक उद्योग व्यवसाय भएको बताउँदै उनले यो क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिब ८ लाख व्यक्तिले रोजगारी पाएको जानकारी दिए । आव २०७८÷०७९ मा ४ अर्ब भन्दा बढीको हस्तकलाका वस्तु निर्यात भएको जनाउँदै उनले देशको कला र संस्कृतिलाई विश्वसामु परिचित गराउँन महासंघ लागिपरेको बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले स्पेनमा नेपाल डे को रुपमा हस्तकला प्रदर्शनी गरी यस क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भमिका खेल्न सकिने बताए । उनले सो कामका लागि नवनियुक्त राजदूतको विशेष भूमिकाको आफूहरुले अपेक्षा गरेको उल्लेख गरे । स्पेनमा रहेका निकासीकर्ता तथा व्यापारीहरुको बारेमा राजदूतावासबाट सूचना प्राप्त भएमा महासंघले सिधै सम्पर्क गर्न सक्ने बताउँदै उनले यसमा सहयोग गर्न राजदूतलाई आग्रह गरे । महासंघका अर्का उपाध्यक्ष दिपेन्द्र शाक्यले शुरुमा त्यहाँका चेम्बर, व्यवसायिक संघ संस्थाहरु र व्यापारीहरुको सम्पर्क ठेगाना सहित तथ्य विवरण सूची पठाउन अनुरोध गर्दै यथाशिघ्र एक हस्तकला मेला आयोजना गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

यस्तै निकासीकर्ता डा. गोविन्द टन्डनले दूतावास परिसरमा प्रदर्शनी कक्षको व्यवस्था, नेपाल प्याभिलियनको निर्माण, नेपाली निर्यातकर्ता एवं त्यहाँका व्यवसायीहरुबीच भेटवार्ताको वातावरण निर्माण लगायतमा ध्यान दिन राजदूत पराजुलीलाई आग्रह गरे ।
छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले यूरोप लगायत विश्व बजारमा नेपालको चिनारी गराउने वस्तुमध्येमा हस्तकला परेको बताए । उनले धेरै युवाहरु नयाँ अवधारणा सहित यस क्षेत्रमा लागेको अवस्थामा स्पेनस्थित राजदूतावासबाट हस्तकलाको बजार प्रबद्र्धनमुखी विशेष कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

महासंघका पदाधिकारी तथा व्यवसायीहरुको कुरा सुनेपछि राजदूत डा. शर्मिला पराजुली ढकालले आफू यसअघि ओमानका लािग नेपाली राजदूतका रुपमा काम गर्दा पनि यस क्षेत्रका लागि केही काम गरेको जानकारी दिइन् । उनले अब स्पेनमा नेपालको मौलिक कला, संस्कृति, सम्पदा, पहिचानबारे व्यापक प्रचार गर्न सक्दो लागिपर्ने र नेपाली हस्तकला लगायतका वस्तुहरुको बजार प्रबद्र्धनका लागि सम्भव भए सम्मको पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले राजदूतलाई महासंघको कार्यालयमै स्वागत गर्न पाउँदा असाध्यै खुसी लागेको बताउँदै उपस्थितीका लागि धन्यवाद ज्ञापन गरे । त्यस क्रममा राजदूत पराजुली ढकालले महासंघको परिसरमा प्रदर्शित चाँदीजन्य गरगहना, धातुकला, हाते कागजका सामान, प्राकृतिक रेशाजन्य वस्तु, फेल्टजन्य वस्तु, पोतेजन्य वस्तु लगायतका विविध हस्तकला वस्तुहरुको अवलोकन समेत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार