राष्ट्रिय भूमी आयोग र काठमाडौं महानगरपालिकाबीच भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धी कार्य सहमति पत्रमा हस्ताक्षर भएको छ ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय भूमि आयोगका केशव निरौला र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जानकारी दिए । विभिन्न ३ बुँदामा गरिएको सहमतिपत्रमा जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका तथा राष्ट्रिय भूमि आयोगको जिम्मेवारीबारे उल्लेख छ । यस्तै सहमतिपत्रमा दुबै पक्षका साझा जिम्मेवारीबारे पनि उल्लेख गरिएको छ ।
भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि जग्गाको पहिचान र छनौट गर्ने, नापी कार्यालयमार्फत जग्गा नापनक्सा गर्न नापी टोली खटाउँने लगायतका विषयलाई बिहिबारको सहमतिपत्रमा समेटिएको छ ।
भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि बिहिबार भएको सहमति महत्वपूर्ण रहेको राष्ट्रिय भूमी आयोग काठमाडौं जिल्ला सदस्य मोतीलाल लामाले बताए ।







