Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

म यसकारण कांग्रेस तारकेश्वरको नगर उपसभापति बन्न चाहन्छु : लक्ष्मीराज भण्डारी


कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन सुरु हुनै लाग्दा नेपाली काँग्रेसमा केन्द्रदेखि गाउँसम्म चुनावी माहोल तातिएको छ । यस पटकको अधिवेशनमा युवा व्यक्तिहरुको राजनीतिक आकर्षणले आम मान्छेमा काँग्रेसप्रतिको चासो थप बढाएको छ । वडादेखि क्षेत्रीय प्रतिनिधि चयन हुँदासम्म युवा लहर काँग्रेसमा उदाहरणीय छ भने पालिका अधिवेशनमा पनि युवा साथीहरु नेतृत्व हत्याउन पुरानो पुस्तासँग कसरत गरिरहेका छन् । त्यही मध्येको एक म स्वयं हुँ ।

झण्डै डेढ दशकदेखि म सञ्चारकर्ममा छु । यसक्रममा मैले धेरै पार्टी र तीनका नेताहरुलाई नजिकबाट नियाल्ने अवसर पाएको छु । कुन पार्टी के र कस्तो भन्ने विषयमा म धेरथोर जानकार छु । देशका राजनीतिक दलहरुका नीति र सिद्दान्त धेरथोर पढेको छु । मैले जति पढेँ, जति बुझेँ त्यसमा सबैभन्दा अब्बल नेपाली कांग्रेसलाई नै पाएँ । त्यहिँभएर मैले आफ्नो राजनीतिक यात्रा नेपाली कांग्रेसबाटै अघि बढाउने निधो गरेँ ।

स्वार्थ र गुटगत राजनीतिले कांग्रेस थलिएको अवस्था छ । जसबाट कांग्रेसलाई मुक्त नगराउँने हो भने कांग्रेसप्रतिको जनआकर्षण जोगाउन नै धौ धौ पर्छ । त्यसका लागि सांगठनिक सुधार जरुरी छ र अब त्यसको नेतृत्व हामी युवा पुस्ताले गर्नुपर्छ ।

मेरो बुझाईमा तारकेश्वर काँग्रेसको नेतृत्व तहमा पढेलेखेका र बुद्धिजीवी युवाहरुको उपस्थिती जरुरी छ । अन्य पार्टीसँगको प्रतिष्पर्धाका लागि मात्रै होइन स्वयं आफूलाई जीवन्त बनाइरहनका लागि पनि कांग्रेसमा ती र त्यस्ता युवाहरुको आवश्यकता छ । तर, बिडम्बना भन्नुपर्छ प्रजातन्त्र र लोकतन्त्रको पहरेदारका रुपमा आफ्नो गौरवशाली इतिहास बनाएको कांग्रेसमा अहिले धनवान र बलवानहरुको जगजगी छ ।

केही दशकयता आफ्नो राजनीतिक सुरक्षाका लागि जे पनि गर्न पछि नपर्नेहरुको राज पार्टी नेतृत्वमा चलेको छ । इमान्दार कार्यकर्ता र शुभचिन्तकहरुलाई धन र बलको प्रभावमा पारिएको छ । अब पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिइयो भने कांग्रेस पार्टीको अस्तित्व नै धरापमा पर्न सक्छ । कांग्रेसको अस्तित्वमाथि प्रश्न उठ्ने अवस्था आउँनु भनेको लोकतन्त्रमाथि नै संकट सृजना हुने अवस्था आउनु हो । कांग्रेस कमजोर बन्दै गयो भने लोकतन्त्र कमजोर बन्दै जान्छ । त्यसैले अब थप सचेत र सजग बन्न जरुरी छ ।
एकैछिन सोचौं, कृयाशील सदस्यताका लागि हामी कति मरिहत्ते गर्छौं । आफ्नो परिवार र वरीपरिका मान्छेलाई कृयाशील सदस्यता दिलाउँन दिलोज्यान दिएर लागिपर्छौ । तर, सदस्यताका लागि मरिहत्ते गरेका हामीहरु चुनावमा पार्टीलाई विजयी गराउँनका लागि के त्यसैगरी घुँडा टेकेर लाग्छौं ? यसमा गम्भिर ढंगले सोच्न आवश्यक छ । नेतृत्वले कार्यकर्ताको कृयाशीलताका आधारमा व्यवहार गरिरहेको छ या छैन ? इमान्दार र संगठनप्रति प्रतिबद्ध कार्यकर्ताले पार्टीमा न्यायको अनुभूती गर्न पाएका छन् या छैनन् ? यसमा गम्भिर समीक्षा हुन जरुरी छ ।

हुन त नेपाली काँग्रेसमा इमान्दार र संगठनको मोह बोकेका व्यक्तिलाई इतिहासदेखि नै पाखा लगाउने गलत नजिर स्थापित भएको छ । वीर गणेशमान सिंहले जीवनको उत्तराद्र्धमा काँग्रेस छाड्नु पर्नाको अरु कारण केही थिएन, धनवान र बलवानले पार्टी कब्जा गरेपछिको निराशा थियो । आज पनि धनवान र बलवानहरुले पार्टी कब्जा गर्दै गएपछि धेरै गणेशमानहरु निष्किृय बन्नु परेको तीतो यथार्थ हामीसामु छ ।

म पार्टीको नगर उपसभापतिमा उम्मेद्वारी दिँदै गर्दा नगरका सम्पूर्ण कांग्रेसजनमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि भोलीका दिनमा कसैले पनि कांग्रेसभित्र बसिरहँदा अन्यायको अनुभूती गर्नुपर्ने छैन । तारकेश्वरभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ अवको स्थानिय चुनावमा कांग्रेसलाई स्थापित गर्न गुट र उपगुटहरुलाई निष्क्रिय पार्नेगरी म अघि बढ्नेछु । मलाई ९ भन्दा बढि इकाई सभापतिले सहयोग गर्ने वचन दिनुभएको छ । त्यसैले म ढुक्क छु मेरो जित निश्चित छ । तर, त्यसमा यहाँहरु सबैको साथ सहयोग र समर्थनले भोलीका दिनमा काम गर्न मलाई अझ बढी हौसला प्रदान गर्नेछ ।

यहाँहरुलाई अवगत नै छ म नेपाल तरुण दल काठमाडौ क्षेत्र नं ६ को क्षेत्रीय सचिवमा यसअघि निर्विरोध निर्वाचित भएको थिएँ र विगत १५ वर्षयता नेपाली कांग्रेसमा सक्रितापूर्वक लागिरहेको छु । गत स्थानिय, प्रदेश र संघीय निर्वाचनमा समेत काँग्रेस जिताउ अभियानमा प्रभावकारी भूमिका खेलेको कुरा मैले यहाँहरुमाझ भन्नै पर्दैन । त्यसका साक्षी यहाँहरु स्वयं हुनुहुन्छ ।

अन्त्यमा वडा २ को इकाई अधिवेशनबाट मलाई निर्विरोध रुपमा क्षेत्रिय प्रतिनिधि चयन गर्नुहुने सबैप्रति म आभारी छु । प्रेस युनियन काठमाडौ शाखामा काम गर्दाको अनुभव होस् या तारकेश्वर पत्रकार मञ्चको सल्लाहकारका रुपमा काम गर्दाको अनुभव होस् म मेरा सबै अनुभवलाई एकीकृत गरेर पार्टीलाई बलियो बनाउँने अभियानमा लाग्नेछु । जय नेपाल !

 


प्रतिक्रिया दिनुहोस !
विचार