Logo
१६ श्रावण २०८३, शनिबार
|  Sat Aug 1 2026

मेलमिलाप दिवसमै रास्वपालाई कांग्रेसको तिरस्कार


हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको कांग्रेसले आज पनि प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम गरेर यो दिवस मनाउँदैछ । दिवसका अवसरमा विभिन्न राजनीतिक दल र नेताहरुलाई निम्तो दिएको कांग्रेसले रास्वपालाई भने निम्तो दिएको छैन । मेलमिलाप दिवसका अवसरमा कांग्रेसले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगाएतलाई निम्तो दिएको छ । तर, अरुलाई निम्तो दिइरहँदा कांग्रेसले संसदको चौथो ठूलो शक्ति रास्वपालाई भने आजको कार्यक्रममा निम्तो दिएको छैन ।

संविधान निर्माणमा संलग्न राजनीतिक दलका नेताहरुलाई मात्रै निम्तो दिइएको कांग्रेसका एक नेताले बताए । तर, मेलमिलाप दिवस जस्तो महत्वपूर्ण कार्यक्रममा संसदको चौथो ठूलो दललाई नै निषेध गर्नुले राम्रो सन्देश नगएको उनको भनाई छ । मेलमिलाप दिवसको सान्दर्भिकता कांग्रेसको नेतृत्वले नबुझेको भन्दै उनले नाम अनुसारको काम नहुँदा त्यसले जनस्तरमा कांग्रेसलाई हानी पुग्ने बताए ।

करिब ८ वर्ष भारतमा निर्वासित जीवन व्यतित गरेका कांग्रेसका संस्थापक नेता विपी कोइराला सहितका नेताहरु २०३३ पुस १६ गते राष्ट्रियता जोगाउँन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने भन्दै स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि बिपी कोइराला सहितका नेताहरु जेलमा परेका थिए । २०२५ कात्तिक १४ गते जेलबाट छुटे लगत्तै उनीहरु भारत निर्वासित भएका थिए । भारतमा करिब ८ वर्ष निर्वासित जीवन बिताएपछि राष्ट्रियता जोगाउँन राजसंस्था सहित अन्य दलहरु मिल्नुको विकल्प नभएको भन्दै उनीहरु नेपाल फर्किएका थिए । नेपाल फर्किदा विपीले देश जोगाउने सन्दर्भमा राजा र मेरो घाँटी जोडिएको छ भनेको विषय अहिले पनि नेपाली राजनीतिमा चर्चाको विषय बनेको छ । तत्कालिन राजासँग सम्बन्ध नराम्रोसँग बिग्रिएका बेला समेत विपि कोइरालाले मेलमिलापको हात अघि बढाएका बेला अहिलेको कांग्रेस नेतृत्वले भने नयाँ पार्टीलाई नै निषेध गरेर जान खोजेको भन्दै कांग्रेसको केहीले आलोचना गरेका हुन् ।

संविधान निर्माणमा संलग्नहरुलाई मात्रै मेलमिलाप दिवसमा समेट्नु तर, अन्यको बेवास्ता गर्नुले मेलमिलाप नभई कांग्रेस कलह र बिग्रहको बिउ रोप्नतिर लागेको केहीको आरोप छ । नयाँ राजनीतिक दलहरुप्रति जनआकर्षण बढ्दै गइरहेका बेला कांग्रेसले बनाएको छोटो चित्त कांग्रेसीहरुकै लागि अभिषाप हुने केहीको बुझाई छ । सडकमा राजसंस्था र हिन्दू राष्ट्रको समेत आवाज उठिरहेका बेला ती शक्तिलाई समेत समेटेर अघि बढ्नुपर्ने बेलामा कांग्रेसले भने अहिलेको व्यवस्थाकै पक्षधर शक्तिहरुलाई निषेध गर्नु ठिक नभएको उनीहरुको तर्क छ । सबैलाई समेटेर अघि बढ्नुपर्ने बेलामा रास्वपालाई निषेध गर्दा त्यसले रास्वपाप्रतिको जन सहानुभूति बढ्ने तर, कांग्रेसको भने घट्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

त्यसो त कतिपयले कांग्रेस अहिले विपीको सिद्धान्त बमोजिम अघि बढ्ने भन्दा पनि बिपीको नाम मात्रै भजाएर अघि बढेको आरोप समेत लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार