Logo
१६ श्रावण २०८३, शनिबार
|  Sat Aug 1 2026

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चयन


रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । शुक्रबार दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित भएका छन् । अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

टीकापुर घटनापछि केही वर्ष चौधरी भूमिगत थिए। उनी राजपाबाट २०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

उनी केही समयपछि जेल परेका थिए। सोही बेला नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। महाधिवेशनबाट ३९ जना पदाधिकारीसहित दुई सय ४६ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचनबाट र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनीत गर्ने पार्टीको विधानमा व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !
विचार