राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
यस वर्ष धेरै विद्यार्थीहरु फेल भएकाले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको बोर्डले जनाएको छ । अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेकाको र यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका बोर्डले जनाएको छ ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये करिब ४८ प्रतिशतले मात्रै कक्षा ११ पढ्न पाउने भएका छन् । १८६ जनाको ४.० जिपीए, ४७.८६ प्रतिशत ‘पास’ २२१ जनाको रद्द र २,४२,०९२ परिक्षार्थीको नतिजा एनजी आएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।





