Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

सुशीला कार्कीका दुःख


अकस्मात आइलागेको प्रधानमन्त्रीको कुर्सीमा बसेकी सुशीला कार्कीका दुःख हिजोआज सामान्य छैनन् । जेनजी विद्रोहको जगमा प्रधानमन्त्री बनेकी कार्कीलाई एकातिर जेनजीले चर्को दबाब दिइरहेका छन् भने अर्कातिर देशका राजनीतिक दलहरुले । जेनजीका समुह एउटा, दुईटा, तीनटा या चार पाँचवटा मात्रै पनि छैनन् । अनि उनीहरुका माग एकै प्रकारका पनि छैनन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव नगरे हामीले जान्या छ भन्नेदेखि लिएर प्रत्यक्षको चुनाव लौ कसरी हुँदोरहेछ गरेर त देखाऊ त्यसपछि हेरौंला भन्ने सम्मका जेनजीहरु छन् ।

अहिलेको व्यवस्था जोगाएरै अघि बढ्नुपर्छ भन्नेदेखि राजसंस्था फर्काउनुपर्छ भन्ने सम्मका जेनजीले प्रधानमन्त्री कार्कीलाई दिनदिनै दबाब दिइरहेका छन् । उता देशका स्थापित राजनीतिक दलहरुको चेतावनी उस्तै छ । प्रधानमन्त्री कार्कीलाई अरु त अरु बालुवाटारबाट भागेर केहीदिन सेनाको शरणमा पुगी अहिले भक्तपुरको गुण्डुमा बसेका पूर्वप्रधानमन्त्री ओलीले पनि चेतावनी दिन थालिसकेका छन् । अरु दल र तीनका नेताहरुको चेतावनी पनि उस्तै छ । जेनजीहरु पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्कालै पक्राउ गर्न दबाब दिइरहेका छन् भने ओली र लेखकलाई पक्राउ गरे हामीले जान्या छ भन्दै एमालेका महेश बस्नेत लगाएतले औंला ठड्याइरहेका छन् । बरु बस्नेतहरुले उल्टै काठमाडौं महानगरका मेयर बालेन साह र सुदन गुरुङलाई पक्राउ गर्नुपर्ने माग अघि सारेका छन् ।

बालेन साह, सुदन गुरुङ लगाएतले देशका महत्वपूर्ण भौतिक संरचना ध्वस्त पार्न भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गर्नुपर्ने माग सहित प्रहरीकोमा उजुरी पर्न थालेको छ । परस्परविरोधी यी उजुरी प्रधानमन्त्री सुशीला कार्कीका लागि असाध्यै सकसका कुरा हुन् । ओली र लेखकलाई पक्राउ गरौं सुरक्षा निकायका अधिकारीहरुले परिस्थिती भड्किन सक्छ त्यसैले सोचेर कदम चालौं हजुर भनिरहेका छन् । नगरौ जेनजीहरुको दिनदिनै खबरदारी छ । उनीहरुले भन्न थालेका छन् ओलीको जस्तै हेलिकोप्टर चढेर भाग्नुपर्ने बनाउन नपरोस् । उता महेश बस्नेतहरु चुनौती दिइरहेका छन् ः लु तिम्रा बाउको हिम्मत छ भने पक्राउ गरेर देखाउ । बालेन र सुदन गुरुङहरुलाई पक्राउ नगरे हामीले जान्या छ शैलीको चेतावनी महेश बस्नेतहरुको छ ।

यस्तोमा सुशीला कार्की नेतृत्वको सरकारले ओली र लेखक अनि बालेन र सुदन विरुद्धको उजुरी जाँचबुझ आयोगतिर पन्छाएर केहीदिन भएपनि आनन्द त होला भन्ने सोचेर आयोगमा पठाइदियो । तर, आयोगले प्रष्टसँग भनिदियो कोही कसैमाथि फौजदारी अभियोगमा कारबाही गर्न प्रतिवेदन कुर्नपर्दैन । आयोगको मुख हेर्न पर्दैन । अब सुशीला कार्कीलाई परेन फसाद ? आयोगले फर्काइदिएको उजुरी अनुसार एक्सन लिऔं कसरी लिऔं, नलिऔं कसरी नलिऔं ? सुशीला कार्कीका लागि प्रधानमन्त्री पद अहिले मुखमा राखेको तातो पिँडालु जस्तै भएको छ ।

उता प्रधानमन्त्री पदको नियुक्ति कागज हेर्दा फागुन २१ नजिक नजिक आइसक्यो । प्रधानमन्त्रीको कुर्सीमा बसेकै लगभग एक महिना भइसक्यो । चुनाव गराउने म्याण्डेट छ तर, चुनावका लागि जेनजीदेखि ठूला दलसम्मलाई मनाउँन सकिएको छैन । केही जेनजीहरु भन्छन् प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव नगराउँने हो भने चुनाव चाहिएन । अनि यता दलहरु भन्छन् मनलाग्दी संविधानको भावना विपरित चुनाव गराउँने हो भने हामीलाई स्वीकार्य छैन । अझ त्यसमा पनि शान्ति सुरक्षाको प्रश्न गम्भिर रुपमा खडा भएको छ । दलहरुसँग एक्लै संवाद गर्न सक्ने आँट आफूसँग नभएपछि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई गुहारिन् । शुुक्रबार राष्ट्रपति पौडेलले नै सर्वदलीइ बैठक आह््वान गरे । जेनजीसँगको बैठक पनि एक्लै राख्ने आँट सुशीला कार्कीले गरिनन् । केहीदिनअघि प्रधानमन्त्री निवासमा जेनजीहरुको बैठक आफूले राखेपनि आफैं भने कार्की उपस्थिती भइनन् । शनिबार बिहान राष्ट्रपति पौडेलकै आह्वानमा प्रधानमन्त्री सहित जेनजीहरुको बैठक आह्वान गरियो ।

अकस्मात आइलागेको प्रधानमन्त्रीको कुर्सीमा सुशीला कार्की बसेपनि बैठक आह्वान लगाएतका काम राष्ट्रपति पौडेलले गर्नुपर्ने भनेपछि प्रधानमन्त्री कार्कीका दुःख कतिसम्म रहेछन् ?


प्रतिक्रिया दिनुहोस !
विचार