हुन त अब ओली ठिक या देउवा भनेर बहस गर्ने समय छैन । जेनजी आन्दोलनले ओली र देउवा दुबैलाई असान्दर्भिक ठह¥याउँदै त्यो गठबन्धनलाई सत्ता च्युत गरिदिएको हो । सत्ताच्युत भएपछि मान्छेहरुमा ओली र देउवाका विषयमा एक प्रकारको कौतुहलता स्वभाविक रुपमा जागृत भयो, ओली र देउवाहरु सुध्रिए कि सुध्रिएनन् होला ?
देउवा र ओलीहरु जेनजी आन्दोलनपछि केहीदिन सुरक्षा घेरामा भएका कारण धेरैमा उनीहरुका विषयमा चासो थियो । ओली र देउवाले अब के भन्लान् भन्ने आम चासो जेनजी आन्दोलनपछि थियो । कतिपयले देउवा र ओली सुध्रिने आँकलन गरेका थिए भने कतिपयले त्यो सम्भव नै नरहेको दाबी गरेका थिए ।
दुबै नेता यो बीचमा सार्वजनिक भए । ओली भक्तपुरको गुण्डुमा देखिए भने देउवा पार्टी कार्यालय सानेपामा । उनीहरु सार्वजनिक हुनुअघि दुबैका बारेमा जनतामा उस्तै उस्तै धारणा थियो । ओली र देउवा एउटै ड्याङका हुन् भन्ने बुझाई थियो । सत्ता सहकार्यदेखि अन्य धेरै कुरामा सँगसँगै रहेका कारण पनि देउवा र ओलीमा मान्छेहरु खास फरक देख्दैनथे । तर, यतिबेला भने उनीहरुकै बोलीका कारण व्यापक तुलना शुरु भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा देउवा प्रस्तुत हुँदै गर्दाको दृश्य र बुधबार एमाले केन्द्रीय कमिटीको बैठकका लागि ललितपुरको एक बैंक्वेटमा ओली प्रस्तुत हुँदै गर्दाको दृश्यले धेरैलाई अचम्मित तुल्याइदिएको छ ।
पहिलो कुरा, ओली र देउवाको हिँडाइमा नै फरकपन झल्किन्थ्यो । पार्टी केन्द्रीय कमिटीको बैठकका लागि देउवा पार्टी कार्यालय सानेपामा जाँदा वरिपरी नेता कार्यकर्ताको त्यत्रो लामेलस्कर र स्कर्टिङ थिएन । जबकी ओली केन्द्रीय कमिटी बैठकमा जाँदा नेता कार्यकर्ताको व्यापक स्कर्टिङ थियो । देउवा सरल रुपमा पार्टी कार्यालय पुगेका थिए भने ओली सान र दम्भ सहित ।
दोस्रो कुरा, ओलीका शब्द जेनजी आन्दोलनको सम्मानमा होइन आन्दोलनप्रति चेतावनी र चुनौतीमा केन्द्रीत थिए । तर, देउवाले पार्टी कार्यालयमा सम्बोधन गर्दै गर्दा प्रष्ट रुपमा जेनजी आन्दोलनप्रति सम्मानभाव व्यक्त गरे । ओलीले जेनजी आन्दोलनका शहीद र घाइते भन्ने शब्द प्रयोग गरेनन् । उनले भदौ २३ र २४ को घटना भने । तर, देउवाले प्रष्ट रुपमा जेनजी आन्दोलन भन्दै आन्दोलनका शहीदलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरे ।
तेस्रो कुरा, देउवाले अबको महाधिवेशनबाट आफू सभापति नबन्ने घोषणा गरे । नेतृत्व हस्तान्तरणको उधारो आश्वासन होइन तत्कालका लागि कार्यबाहक सभापतिको जिम्मेवारी नै पार्टी उपसभापति पूर्ण बहादुर खड्कालाई दिए । तर, यता ओलीले सकुञ्जेल पार्टी अध्यक्ष पद नछाड्ने प्रष्ट सन्देश दिँदै भने : फेसबुकले भन्दैमा म अध्यक्ष पद छाड्दिनँ । आफूलाई पार्टी अध्यक्षका रुपमा बोकेर अघि बढ्न नसक्ने कुरा ज जसले बताए ती नेता कार्यकर्तालाई ओलीले रिसाएको लबजमा भने मलाई कसैले बोक्न पर्दैन आफैं हिँड्न र दगुर्न सक्छु ।
चौथो कुरा, पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा देउवाका लागि विशेष कुर्सीको व्यवस्था थिएन । उनी अरु नेता बसेकै लाइनमा सामान्य कुर्सीमा बसे । तर, ओलीका लागि बैठकमा विशेष कुर्सीको व्यवस्था गरिएको थियो । जहाँ देउवाको सामान्यपन देखिन्थ्यो भने ओलीको दम्भीपन ।
पाँचौ कुरा, देउवाले आफूले गरेको राम्रा काम देखिसहन नसकेर आन्दोलन गरेको भनेनन् जबकी ओलीले आफूले राम्रा काम गरेको देखि नसहेर आन्दोलन गरेको भन्न भ्याए । त्यतिमात्रै होइन देशभरका युवाहरुले आफूलाई मायाले बा भनेको खप्न नसकेर केहीले आन्दोलनमा उक्साएको दाबी गरे ।
छैटौं कुरा, देउवाले पार्टी नेतृत्व नै हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता सहित बैठकमा आफ्ना कुरा शालिन रुपमा राखे । तर, ओलीले आक्रोशित शैलीमा भने : मलाई केहीले ओली सुध्रदैन भनेको सुन्छु , म कहिले बिग्रिएको थिएँ र सुध्रनू ? जेनजी आन्दोलनपछि पनि ओलीको अहम्ता बीसको उन्नाइस भएको देखिएन । तर, देउवाले आफूमा धेरै परिवर्तन भएको कुरा बोलीमा होइन व्यवहारमा नै देखाइदिए ।
जेनजी आन्दोलनका कारण आफ्नो सरकार ढलेको आक्रोश ओलीमा होला । अझै केही महिना प्रधानमन्त्रीको कुर्सीमा बस्न पाइन्थ्यो भन्ने कल्पनाले पनि ओलीलाई सताएको होला । तर, देउवा पनि ओलीपछि प्रधानमन्त्रीको लिखित लाइनमा थिए । अझ देउवा त ठूलो दलको नेता थिए । त्यति हुँदाहुँदै पनि देउवाले जेनजी आन्दोलनपछि पहलिोपटक सार्वजनिक हुँदा जुन प्रकारको परिपक्वता देखाए । यो कुराको भने स्वयं एमालेकै कतिपय नेताहरुले सामाजिक सञ्जालमा वाहवाही गरिरहेका छन् ।
मान्छेहरुमा देउवाप्रतिको आक्रोश यतिबेला एउटै कारणले ज्यादा देखिन्छ त्यो के भने उनको घरमा भेटिएको भनिएको पैसा र त्यो पैसा फेक हो भन्दै देउवाले एआईलाई दिएको दोष । तर, यति भन्दाभन्दै पनि देउवाले एउटा कुरा भन्न छुटाएनन् : म माथि छानबीन होस् ।
छानबीनको चुनौती होइन देउवाको बोलीमा आग्रह थियो । भोलिका दिनमा त्यो पैसाको छानबीन भएर सत्यतथ्य कुरा बाहिर आउला । उनी पैसाका मामलामा के कस्ता रहेछन् भन्ने कुरा छानबीनपछि थाहा होला । तर, पार्टी कार्यालय सानेपामा उनले जुन प्रकारको राजनीतिक परिपक्वता देखाए त्यो भने प्रशंसनीय थियो । राजनीतिक परिपक्वताको तराजुमा ओली र देउवा को कस्ता भन्ने कुरा भोलिका दिनमा पनि थप विश्लेषण हुँदै जाला ।






