वर्षौंदेखि माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रचण्ड माओवादी पार्टीकै नामोनिसाना मेटेर राजनीतिक यात्रा अघि बढाउँने तयारीमा छन् । जेनजी आन्दोलनपछि राजनीतिक अस्तित्वको चिन्तामा रहेका प्रचण्ड माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग एकता गरेर पार्टीको नाम र चुनाव चिन्ह नै फेर्ने अन्तिम अन्तिम तयारीमा रहेका हुन् । पार्टी एकताका लागि प्रचण्ड माओवादी नामदेखि चुनाव चिन्ह हँसिया हथौडा समेत त्याग्न तयार भएको बुझिएको छ । माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको चर्चा निकै पहिलेदेखि भएपनि जेनजी आन्दोलनपछि भने प्रचण्ड निकै तातिएका छन् ।
त्यसो त राजनीतिक अस्तित्वको चिन्ता प्रचण्डलाई मात्रै होइन माधव नेपाललाई पनि उत्तिकै छ । एमालेबाट केहीवर्षअघि अलग भएर छुट्टै पार्टी गठन गरेका माधव नेपालको पार्टीबाट माथिल्लो तहकै केही नेताले पार्टी छाड्दैछन् भन्ने बजार हल्ला फैलिएपछि माधव नेपाल पनि न भोक न निन्द्राको अवस्थामा पुगेका छन् । दुबैको हालत उस्तै उस्तै भएपछि प्रचण्ड र माधव नेपाल जतिसक्दो छिटो राजनीतिक लगनगाँठो कस्ने निष्कर्षमा पुगेका हुन् । प्राप्त जानकारी अनुसार प्रचण्डले पार्टीको नाम माओवादी र चुनाव चिन्ह हँसिया हथौडा त्याग्ने लगभग सहमति भइसकेको छ भने यो कुरामा उनले माओवादीका अन्य प्रभावशाली नेताहरुलाई समेत सहमत गराइसकेका छन् । पार्टीको नाम माओवादी नरहने , चुनाव चिन्ह हँसिया हथौडा नराख्ने र यसको सट्टामा पार्टीको नाम नेकपा समाजवादी वा नेकपा मात्रै राख्ने विषयमा छलफल चलिरहेको छ । यस्तै चुनाव चिन्ह माधव नेपाल नेतृत्वको पार्टीले प्रयोग गर्दै आएको कलम राख्न सकिने विषयमा समेत छलफल अघि बढेको बुझिएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका नेताहरु आफ्नो पार्टीको नामोनिसाना मेटेर जान नहुने अडानमा रहेका कारण सम्भवतः पर्टाीको नाम र चुनाव चिन्ह नै समाजवादी पार्टीकै रहन सक्ने अनुमान गरिएको छ । माओवादीसँग पार्टी एकताको विषयमा झलनाथ खनाल, रामकुमारी झाँक्री लगाएतका नेताहरुले फरक प्रकारको अडान राखिरहेपनि छिटोभन्दा छिटो पार्टी एकतामा जाने प्रचण्ड र माधव नेपालको तयारी देखिन्छ ।
आखिर माधव नेपाल र प्रचण्डले पार्टी एकताका लागि पछिल्ला दिनमा किन यति छिटो हतार गरे त ? यो यतिबेला धेरैले सहजै अनुमान गरेका छन् कि जेनजी आन्दोलनपछि उनीहरुमा राजनीतिक अस्तित्वको संकट सम्बन्धी चिन्ता छ । अघिल्लो पटक कांग्रेस सहितका दलसँग चुनावी गठबन्धन गरेर जाँदा त कठिन भएको थियो भने यसपटक एक्लाएक्लै जाँदा केही सिट पनि हात पार्न मुस्किल पर्ने उनीहरुको ठम्याई छ । फेरि कार्तिक अन्तिम सम्म चुनावमा जाने दलहरुले निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने प्रावधान रहेका कारण उनीहरु हतारिएका हुन् ।
प्रचण्ड सकभर जेनजीहरुलाई फकाएर चुनावमा जाने मुडमा थिए । सोही अनुसार केहीदिनअघि एउटा सार्वजनिक कार्यक्रम मार्फत जेनजीलाई सँगै मिलेर चुनाव लडौं भन्ने प्रस्ताव समेत प्रचण्डले गरेका थिए । तर, प्रचण्डलाई जेनजीका कुनैपनि समुहले टेरपुच्छर लगाएनन् । त्यसपछि प्रचण्ड माधव नेपालसँगै भएपनि एकता गरेर अघि बढ्ने निष्कर्षमा पुगे । प्रायः पछिल्ला आम निर्वाचनमा कुनै न कुनै दलसँग गठबन्धन गरेर चुनाव लड्दै आएका प्रचण्डले यसपटक कांग्रेस र एमाले सहितका दलसँग गठबन्धनको सम्भावना नदेखेपछि उनी हतारिएका हुन् । माधव नेपाल र प्रचण्ड मिल्दा मतदातामा कुनै त्यस्तो उत्साह आउछ नै भन्ने ठोस आधार भने छैन । बरु कतिपयले प्रचण्ड र माधव नेपालले गर्न लागेको पार्टी एकताको तयारीलाई नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएका छन् ।






