Logo
२१ बैशाख २०८३, मंगलवार
|  Tue May 5 2026

काठमाडौँमा जडीबुटी सेवनपछि युवाको शंकास्पद मृत्यु, छानबिन सुरु


ओखलढुंगाका एक युवाको काठमाडौँमा शंकास्पद मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–२ ठूलाछापका २९ वर्षीय दिवस बुढाथोकीको जडीबुटीजन्य औषधि सेवनपछि ज्यान गएको बताइएको छ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित तेजविनायक चोकमा बस्दै आएका बुढाथोकीलाई वैशाख १९ गते पेट दुख्ने समस्या देखिएको थियो। त्यसपछि धामीले ‘खाना रुचाउने र पेट निको पार्ने’ भन्दै जडीबुटी घोटेर सेवन गर्न दिएका थिए।

उक्त औषधि सेवन गरेलगत्तै उनको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको आफन्तले बताएका छन्। उनलाई जिब्रो लाटो हुने, बान्ता र पखाला लाग्ने जस्ता लक्षण देखिएपछि तत्काल चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

मृतकका आफन्तका अनुसार बुढाथोकी विदेश जाने तयारीमा थिए र मलेसिया जाने प्रक्रिया पूरा गरिसकेका थिए।

घटनापछि आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। औषधि दिने धामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ भने मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

मृतक बुढाथोकीका श्रीमती र ७ वर्षीय एक छोरा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार