Logo
२२ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 6 2026

आर्थिक तथा नीतिगत सुधारलाई अघि बढाउने सरकारको निर्णय


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन् ।

शुक्रबार फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा सुधार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए ।

उनले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै देशमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्न विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरिएको बताए । वाग्लेले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिएको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सडक तथा अन्य पूर्वाधार क्षेत्रमा लामो समयदेखि अलपत्र रहेका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार नेपाली जनताको लगानी फसिसकेका आयोजनाहरूलाई निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ ।

उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका विभिन्न अपुरा आयोजनाहरूलाई एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजनासहित सरकार अघि बढेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार