काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा उनले ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनले आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
उनले भने,’दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् । अर्थमन्त्री र राजनीति मात्रै होइन । सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’
उनले अन्य सांसदहरुलाई पनि यो स्तरको आँट राख्न शुभकामना दिए ।





