Logo
९ असार २०८३, मंगलवार
|  Wed Jun 24 2026

सहारा मरुभूमिबाट आएको तातो हावाले युरोप प्रभावित, फ्रान्समा १८ जनाको मृत्यु


रोयटर्स । अत्यधिक गर्मीका कारण फ्रान्समा कम्तीमा १८ जनाको मृत्यु भएको छ। मृतकमध्ये कारभित्रका दुई बालबालिका पनि रहेका छन् । सोमबार युरोपका विभिन्न सहरमा तापक्रमले नयाँ रेकर्ड कायम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फ्रान्सको बोर्डोमा तापक्रम ४१.९ डिग्री सेल्सियस पुगेको छ भने पोइटियर्समा ४१.२ डिग्री सेल्सियस मापन गरिएको छ। स्पेनको उत्तरी सहर सान सेबास्टियनमा पनि तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

दक्षिणपूर्वी फ्रान्सको कार्पेन्ट्रासमा २ र ४ वर्षका दुई बालबालिका घरबाहिर पार्क गरिएको कारभित्र अचेत अवस्थामा फेला परेका थिए ।

बोर्डो क्षेत्रमा अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या बढ्दा ८० देखि ९५ वर्ष उमेर समूहका तीन वृद्धवृद्धाको पनि सप्ताहन्तमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

फ्रान्सको नागरिक सुरक्षा सेवाले आइतबारदेखि सोमबारसम्म १३ जना डुबेर मृत्यु भएको जानकारी दिँदै निगरानी गरिएका स्थानमा मात्र पौडी खेल्न आग्रह गरेको छ। गत वर्ष गर्मीको लहरका बेला फ्रान्समा डुबेर मृत्यु हुने घटनामा १७२ प्रतिशतले वृद्धि भएको थियो।

विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार युरोप विश्वको औसतभन्दा दोब्बर गतिमा तातिरहेको छ। विज्ञहरूले सहारा मरुभूमिबाट आएको तातो हावाका कारण युरोपमा असाधारण गर्मी बढेको बताएका छन्।

जलवायु परिवर्तनका कारण गर्मीका लहर र आँधीबेहरी झन् तीव्र बन्दै गएको तथा यसले तापक्रम र वर्षा दुवै बढाइरहेको मौसमविद्हरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार