Logo
२२ असार २०८३, सोमबार
|  Mon Jul 6 2026

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य नहुने कांग्रेसको चेतावनी


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा सोमबारको बैठकमा उनले लामो इतिहास बोकेको संविधानमाथि अनावश्यक छेडखानी राम्रो नहुने बताएका हुन् ।

उनले भने, ‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन सकेकै छैन । संविधानको सङ्घीयतामाथि, हामीहरूले राज्यको संरचनाको परिकल्पना गरेका छौँ, हाम्रो उपस्थिति खोजेका छौँ, त्यसमाथि छेडखानी भएको छ ।’

आङ्देम्बेले लोकतान्त्रिक संविधानको बाटोबाट आएका प्रधानमन्त्री बालेन साहले मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको बताए । उनले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी रहन आग्रह गरे ।

उनले भने, ‘सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्– खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टो बाटोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ– सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ । फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन। हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ। यो राम्रो संकेत पटक्कै होइन।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार