Logo
३० असार २०८३, मंगलवार
|  Tue Jul 14 2026

‘सत्तामा छौँ भन्दैमा,प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्’


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण गर्ने भन्दै मिडिया हाउसमा गाडी तेर्स्याएर गरिएको हर्कतको निन्दा गरेका छन् । उनले कसैको नाम भने लिएनन् । तर सरकारतर्फ नै सुई सोझ्याए ।

प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सचेतक परियारले भने, ‘हामी सत्तामा छौँ भन्दैमा,कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् । लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू को बोल्छ ?’

बन्दूकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाडी तेर्स्याउँदैमा नडराउने समेत उनले बताए । परियारले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको बताए ।
उनले भने, ‘हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु । सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै हो ।’

उनले देशमा पत्रकारिताले ठूलो आँधीबेहरीको सामना गरेर आजको उचाइ हासिल गरेको स्मरण गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार