काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले नियमावलीअनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने व्यवस्था रहेको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरिन् ।
उनले प्रधानमन्त्रीप्रति युवापुस्ताले ठूलो आशा राखेर नेतृत्वमा पुर्याएको भएपनि पछिल्ला गतिविधिले त्यो आशा निराशामा परिणत हुँदै गएको टिप्पणी गरिन् । सरकार गम्भीर विषयमा जवाफ दिनुको सट्टा विषयान्तर गर्न र ‘सस्तो स्टन्ट’ प्रदर्शन गर्नतर्फ लागेको आरोप पनि उनले लगाइन् ।
गुरुङले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले पर्याप्त तयारी नगरेको दाबी गर्दै विस्थापितहरूलाई डुबानको जोखिम रहेको क्षेत्रमा नै स्थानान्तरण गरिएको विषयमा प्रश्न उठाइन् ।
सांसद गुरुङले सुकुम्बासी बस्ती हटाइएपछि भएका आत्महत्याका घटनाप्रति सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।उनले प्रधानमन्त्री युवा पुस्ताको प्रतिनिधि भएकाले देशभरिका युवाले तपाईं प्रति ठूलो आशा गरेको बताइन् । उनले भनिन्, ‘तपाईं प्रतिको विश्वास केवल एउटा व्यक्तिमाथिको विश्वास हैन युवा नेतृत्वमाथिको विश्वास हो । पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिने अपेक्षा हामी सबैको थियो तर आज दुखका साथ भन्नु परेको छ ।’





