काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिन थुनामा बसेर छुटेका छन् । उनलाई आज विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनी अनायास पक्राउ परेका हुन् । उनलाई हायस गाडीमा हालेर काठमाडौं ल्याइएको थियो ।
पौडेलको परिवारले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले पनि उनको पक्षमा निर्णय आएन । महान्यायाधिवक्ता कार्यालयले मुद्दा हालेपछिको थुनछेक बहसमा अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छोडिदिएको छ ।
अदालतको आदेश लगत्तै आगामी २८ गतेको तारेख बुझेर पौडेल घरतिर हिँडेका छन् । उनलाई लिन परिवारका एक सदस्य र एमाले नेता विष्णु रिजाल आएका थिए । गाडीको अगाडी सिटमा रिजाल थिए भने पछाडि सिटमा बसेर पौडेल घरतिर लागेका छन् ।





