जेनेभा । संयुक्त राष्ट्रसङ्घले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) का विस्थापित शिविरहरू मार्फत इबोला फैलिने जोखिम बढेको चेतावनी दिएको छ । राष्ट्रसङ्घले आधारभूत सेवाहरूमा सीमित पहुँच, मानिसहरुको भीडभाड लगायतका कारणले सङक्रमण फैलाउने वातावरण भएको उद्धृत गर्दै सङ्क्रमणको जोखिम अझै उच्च हुन सक्ने बताएको हो ।
मानवीय मामिला तथा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएइचए) ले हालको प्रकोपको केन्द्र बिन्दु इटुरी प्रान्तमा रहेका कम्तिमा १६ वटा विस्थापन शिविरहरूमा इबोलाका घटनाहरू रिपोर्ट गरिएको पुष्टि गरेको छ भने यी शिविरमा दुई लाख ७० हजार भन्दा बढी विस्थापितहरु आश्रय लिईरहेका छन् ।
ओसिएइचएले संयुक्त राष्ट्रसङ्घ र यसका मानवीय साझेदारहरूले हात धुने स्टेशनहरू स्थापना गरेको तथा रोगको फैलावट रोक्न मद्दत गर्न सामुदायिक जागरूकता अभियान जारी राखेको जनाइएको छ ।
यसै बीच कङ्गोका पाँच वटा प्रान्तका साथै छिमेकी मुलुक युगान्डामासमेत इबोलाको सङ्कक्रमण पुष्टि भएको रिपोर्ट गरिएको बताएको छ ।
ओसिएइचएले मानवीय आवश्यकताहरूले उपलब्ध स्रोतहरूलाई पछाडि पार्दै इबोला प्रतिक्रिया प्रयासहरू कायम राख्न र वर्षौंको द्वन्द्व, विस्थापन र बिग्रँदै गएको मानविय अवस्थासँग जुझिरहेका विस्थापित समुदायहरूलाई सहयोग गर्न अझै बढी अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्दै उच्च जोखिमको चेतावनी दिएको छ ।
मानव अधिकारवादी एजेन्सीले हालको इबोला प्रकोपको मुख्य कारको रुपमा देखा परेको बुन्डिबुग्यो भाइरस नियन्त्रणका लागि हाल सम्म कुनै स्वीकृत खोप वा उपचार हाल उपलब्ध नभएको पनि उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार इबोला प्रकोप हाल सम्म दुई हजार ३४४ जनामा पुष्टि भएको रेकर्ड गरिएको छ भने यसका कारण ९३० जनाको मृत्यु भएको र ४६६ जनालाई निको भइसकेको जनाइएको छ ।





