Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

मध्यपूर्व तनावबीच अमेरिका र साउदी अरेबियाबीच ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर


बीबीसी । अमेरिका र साउदी अरेबियाले साउदीको नागरिक आणविक कार्यक्रम विकासका लागि मार्ग प्रशस्त गर्ने ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको व्यापक सहभागिताको आधार तयार पार्ने अमेरिकी ऊर्जा विभागले जनाएको छ।

अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण आणविक सहकार्य सम्झौता’ हो । यद्यपि, सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी सञ्चारमाध्यमहरूले भने भविष्यमा साउदी अरेबियालाई युरेनियम समृद्ध गर्न अनुमति दिन सक्ने उल्लेख गरेका छन् । समृद्ध युरेनियम विद्युत् उत्पादनका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिए पनि त्यसबाट आणविक हतियार निर्माण गर्न पनि सकिन्छ।

विज्ञहरूले यस्तो व्यवस्था अमेरिकाका लागि पहिलो उदाहरण हुन सक्ने र यसले पहिलेदेखि नै तनावग्रस्त मध्यपूर्व क्षेत्रमा आणविक हतियार विस्तारको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।

ऊर्जा विभागले सहकार्य सम्झौतासँगै ‘द्विपक्षीय सुरक्षा सुनिश्चितता सम्झौता’ मा पनि हस्ताक्षर भएको जनाएको छ। विभागका अनुसार यी दुई सम्झौताले आणविक अप्रसार, आर्थिक साझेदारी तथा रणनीतिक सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउन कानुनी आधार तयार गर्नेछन्।

साउदी सरकारले पनि सम्झौता ऊर्जा क्षेत्रमा दुई देशबीचको विद्यमान सहकार्यको निरन्तरता भएको जनाएको छ। साथै, गत नोभेम्बरमा साउदी नेतृत्वको वासिङ्टन भ्रमणपछि यो सम्झौता भएको उल्लेख गरेको छ।

यो सम्झौता अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला भएको हो। अमेरिकाको निकट सहयोगी साउदी अरेबियामा रहेका अमेरिकी सैन्य अड्डाहरू हालै इरानी आक्रमणको निशानामा परेका छन्। त्यसैगरी, इरान समर्थित यमनका हुथी विद्रोहीहरूले दुई दिनअघि साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए।

यसअघि सार्वजनिक भएका विवरणअनुसार अमेरिका र साउदीले संयुक्त अध्ययन सम्पन्न गरेपछि अमेरिकी प्रविधिमा आधारित समृद्धीकरण केन्द्रमार्फत साउदीलाई आफ्नै भूमिमा युरेनियम समृद्ध गरी विद्युत् उत्पादनका लागि आवश्यक इन्धन उत्पादन गर्न अनुमति दिन सक्ने सम्भावना रहेको छ। यसबाट अमेरिकी कम्पनीहरूले परियोजनामा संलग्न हुने अवसर पाउने भएकाले अमेरिकालाई अर्बौँ डलरको आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले सम्झौताले विश्वकै उच्चतम आणविक सुरक्षा तथा अप्रसार मापदण्ड पालना गर्ने र अमेरिकी प्रविधिमा आधारित उत्कृष्ट वैज्ञानिक क्षमताको उपयोग गरिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार