काठमाडौं। “रक्तदान जीवनदान हो, तपाईंको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने मानवीय सन्देशलाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमाडौं शुभ तारा, डिस्ट्रिक्ट ३२५ एफ, नेपालकाे बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय, नारायणटारमा सम्पन्न कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
रक्त अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्नुका साथै समाजमा रक्तदानप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नका लागि आफुहरूले रक्तदान कार्यक्रम आयाेजना गर्ने गरेकाे लायन्स क्लब अफ काठमाडौं शुभ तारा, डिस्ट्रिक्ट ३२५ एफ, नेपालका संस्थापक अध्यक्ष राजेश हिमालय बताउँछन् । उनले रक्तदान केवल सामाजिक उत्तरदायित्व मात्र नभई मानव जीवनप्रतिको उच्च सम्मान र करुणाको प्रतीक भएको बताए।
सहभागीहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवाका रूपमा व्याख्या गर्दै नियमित रक्तदानले अरूको जीवन बचाउनुका साथै दाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।
लायन्स क्लब अफ काठमाडौं शुभ ताराले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
रक्तदान जस्तो पवित्र कार्यले समाजमा सहयोग, सद्भाव र मानवताको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आयोजकले आगामी दिनमा पनि सबैलाई नियमित रक्तदान अभियानमा सहभागी हुन आग्रह गरेको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, रक्तदाता, स्वयंसेवक तथा सहभागीहरूप्रति आयोजक परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय संघ–संस्था, विद्यालय, व्यवसायी, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता र सहयोग रहेको थियो।
रक्तदानले एकातर्फ बिरामीलाई नयाँ जीवन दिने अवसर सिर्जना गर्छ भने अर्कोतर्फ समाजमा मानवीय संवेदना, सहकार्य र सेवाभावलाई अझ बलियो बनाउँछ।





