Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

निर्मल पुर्जाको शव ब्रड पिकको ५ हजार ७ सय मिटर उचाइमा फेला


काठमाडौँ । पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव फेला परेको छ ।

पाकिस्तानको अल्पाइन क्लबले आइतबार पुर्जाको शव समुद्री सतहबाट करिब ५ हजार ७ सय मिटर उचाइमा फेला परेको जनाएको हो। घटनास्थलमा थप तीन जनाको शव देखिएको भएपनि उनीहरूको औपचारिक पहिचान हुन बाँकी रहेको क्लबले जनाएको छ ।

पुर्जाको निधन भएको पुष्टि शनिबार उनको कम्पनी एलिट एक्सपेडिसन्सले गरेको थियो। कम्पनीका अनुसार ब्रड पिकमा गएको हिमपहिरोमा पुर्जासहित १० जना आरोहीको मृत्यु भएको थियो।

यसअघि पाकिस्तानी अधिकारीहरूले पुर्जाको टोलीमा रहेका अमेरिकी आरोही म्यालोरी गाइस, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको शव पनि फेला परेको जानकारी दिएका थिए।

सन् २०१९ मा पुर्जाले विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल मात्र १८९ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही यात्रामा आधारित नेटफ्लिक्सको चर्चित वृत्तचित्र ‘14 Peaks: Nothing Is Impossible’ ले उनलाई विश्वभर परिचित बनाएको थियो।

उद्धार टोलीले ब्रड पिकमा खोजी अभियान जारी राखेको छ। ८,०४७ मिटर अग्लो ब्रड पिक विश्वको १२औँ अग्लो हिमाल हो र यसलाई विश्वकै चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।


प्रतिक्रिया दिनुहोस !
विचार