लण्डन । साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा मध्यपूर्वको युद्धले सिर्जना गरेको अवरोधका बीच सेप्टेम्बरदेखि पेट्रोलियम पदार्थ (इन्धन) उत्पादनलाई बढाएर एक लाख ८८ हजार ब्यारेल प्रतिदिन बनाउने सहमति जनाएका छन् ।
“सात सहभागी देशहरूले प्रतिदिन एक लाख ८८ हजार ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्,” उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ । विस्तारित पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका प्रमुख देशहरूले गरेको यो वृद्धि विश्लेषकहरूले व्यापक रूपमा गरेको अपेक्षा अनुरूप नै आएको छ ।
खाडी देशहरूले मध्यपूर्वको युद्धका बेला जुन महिनामा अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर भएपछि ढुवानीमा छोटो समयको वृद्धि भए पनि इरानले हर्मुज जलमार्गलाई लगभग नियन्त्रणमा राखेका कारण निर्यात बढाउन सङ्घर्ष गरिरहेका छन् ।
साउदी अरब, रूस, इराक, कुवेत, कजाखस्तान, अल्जेरिया र ओमानलगायतका ओपेक प्लस देशहरूले गरेको सेप्टेम्बरको वृद्धिले सङ्गठनले ल्याएको तीनवटा उत्पादन कटौती प्याकेजमध्ये दोस्रोको पूर्ण रूपमा अन्त्य गर्छ।
समूहले वास्तवमा कहिले तेलको परिमाण बढाउन सक्नेछ भन्ने अझै अस्पष्ट छ । इराकजस्ता केही सदस्य देशहरूले उत्पादन उल्लेखनीय रूपमा बढाउने इच्छा व्यक्त गरेका छन्।तर रूस युक्रेनी ड्रोन आक्रमणको बारम्बार सामना गरिरहेको छ जसले यसको तेल पूर्वाधारलाई क्षति पुर्याएको छ र उत्पादन हाल प्रतिदिन करिब ९० लाख ब्यारेलमा रहेको छ । यो रूसको ९८ लाख ब्यारेल प्रतिदिनको लक्ष्यको तुलनामा कम हो ।
डीएनबी कार्नेगीका विश्लेषकहरूका अनुसार सेप्टेम्बरको वृद्धिपछि ओपेक प्लस ‘नयाँ उत्पादन कोटाबारे सम्भावित कठिन वार्ता’ को सामना गर्नेछ ।सन् २०२२ को अन्त्यदेखि सन् २०२३ सम्म ओपेक प्लसले तेलको मूल्य घटिरहेको चिन्ता गर्दै तीन चरणमा तेल उत्पादन कटौती गर्न सहमति जनाएको थियो जसले कुल उत्पादन लगभग ६० लाख ब्यारेल प्रतिदिन घटाएको थियो।
साउदी अरब, रूस, इराक, कुवेत, कजाखस्तान, अल्जेरिया, ओमान र संयुक्त अरब इमिरेट्सले सन् २०२५ देखि क्रमशः उत्पादन बढाएर आफ्नो रणनीति परिवर्तन गरेका थिए। तर समूहबाट संयुक्त अरब इमिरेट्स सन् २०२६ मे १ मा बाहिरिएको थियो।





