काठमाडौँ । सुनसरीको कप्तानगञ्ज गाउँपालिकाको देवानगंज घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मंगलबार रवीन्द्र मेहताको मृत्यु भएको रास्वपाका नेता वीरेन्द्र केएमले जानकारी दिएका छन् ।
मेहतासँगै सुनसरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सोही घटनामा घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको छ । साउन १० गते राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज-३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई हात र कोखमा गोली लागेको थियो । नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएको थियो ।
सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ ।





