काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्नेछ । यो क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अद्यावधिक हुनेछ ।
यो कार्य आगामी भदौ १५ सम्म सम्पन्न गर्ने समयसीमा तय गरिएको छ । आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको थियो । आयोगको सोही आग्रहबमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली सङ्कलन एवम् अद्यावधिक गर्ने कार्यका लागि आवश्यक सहयोग एवम् सहजीकरणका लागि अनुरोध गरेको हो ।





