Logo
७ कार्तिक २०८३, शनिबार
|  Sat Oct 24 2026

‘गरिब मर्दा एक भारी दाउरा,एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले विपन्न र गरिब नागरिकको मृत्यु हुँदा दाहसंस्कारका लागि राज्यले निःशुल्क व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले पशुपति आर्यघाटमा लास जलाउने पैसा नभएर एक नागरिकले आफूसँग सहयोग मागेको घटना सुनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद संग्रैलाले आज बिहानै पशुपति आर्यघाटबाट एक विपन्न नागरिकले फोन गरेर आफ्नो आफन्तको लास दाहसंस्कार गर्न पैसा नभएको भन्दै सहयोगको याचना गरेको बताइन् । ‘त्यो फोनले मलाई एकछिन झस्कायो र दुःखी बनायो,’ उनले भनिन्, ‘बाँचुञ्जेल अनेक शीर्षकमा कर तिर्ने नागरिकले मर्दा पनि सम्मानजनक अन्तिम संस्कार नपाउनु दुःखद छ ।’

राज्यले नागरिकबाट कर मात्र लिने नभई उनीहरूको अन्तिम यात्रालाई सहज बनाउने जिम्मेवारी पनि लिनुपर्ने उनको भनाइ छ । ‘यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ,’ उनले भनिन् ।

संग्रौलाले सरकारले जसको कोही छैन उसको सरकार भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गरिन् । ‘जन्मेर कोक्रोमा चढ्दै गर्दादेखि नै हामीले कर तिरेर आयौँ, तर मर्दा पनि राज्यले अभिभावकत्व नदेखाउने हो भने यो नागरिकमैत्री राज्य हुन सक्दैन,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार