Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

३५-३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि :रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए । उनले माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको बताए ।

नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए । सभापति लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनले बताए ।

उनले विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उमेरका आधारमा अनुभवी पुस्तामाथि प्रश्न उठाउने गरेको समेत स्वीकार गरे । उमेरकै कारण अनुभवी पुस्तालाई पर्याप्त सम्मान दिन नसकेको हुनसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार