Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ:


काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले संसदीय समितिमा सुरक्षा निकायका प्रमुखलाई गरिएको व्यहारप्रति आपत्ति जनाएका छन् । शुक्रबार संसदको कानुन समितिको बैठकमा गृहमन्त्री गुरुङले गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गरेको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।

उनले उजुरीका आधारमा सांसदले न्यायाधीश बन्न नपाउने बताए । उनले भने, ‘मेरो उपस्थिति नरहेको बैठकमा हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जुन व्यवहार गरियो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड । वि आर नट ह्याप्पी। कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन ।’

उनले गृह प्रशासनअन्तर्गका निकायले सरकारको स्पिरिट अनुसार काम गरिरहेको बताए । उनले भने, ‘म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा स्पेशल्ली, यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नुभएको छ, यसमा दुई मत छैन । आरोप लगाउन जोसुकैले नि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई दोषी करार गरेर एउटा समितिमार्फत त्यस्तो गर्नु राम्रो होइन ।’

लेखा समितिको बुधबारको बैठकमा सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने उजुरीमाथिको छलफल गर्ने क्रममा गृहसचिव श्रेष्ठ र प्रहरी महानिरीक्षक कार्कीमाथि जथाभावी बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार